सिरहा । कमला बचाऊ अभियानअन्तर्गत हरेक साता संचालन गरिंदै आएको ‘कमला महिमा आध्यात्मिक एवम् पर्यावरणीय संवाद यात्रा’ शुक्रबार साँझ सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– ७ ठूलो टोल मरेवा घाटमा आयोजना गरिएको छ।
कमला तटीय क्षेत्रमा पर्ने ठूलो टोल मरेवास्थित कमला–सिताघाटमा आयोजना हुने भनिएको यात्रा मौसम प्रतिकूलताको कारण मरेवा बजारस्थित छठघाट (पोखरी परिसर)मा स्थानान्तरण गरी कमला आरती गरिएको थियो।

स्थानीय प्रभात महतोको अध्यक्षता तथा सिरहा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य तपेश्वर यादवको उपस्थितिमा जनकपुरधामस्थित गंगासागरका पण्डित अजय झाले कमला आरती गरेका थिए।
पछिल्लो समय क्रसर तथा गिट्टी बालुवा व्यवसायीहरुले कमला नदीका विभिन्न ठाउँमा उत्खनन् गर्दा नदीको प्राकृतिक बहाव परिवर्तन हुनुका साथै धार परिवर्तनले वर्षेनी तटीय क्षेत्रका बासिन्दाले संकट झेल्दै आएका छन्। अभियानका अनुसार नदीको अनियन्त्रित दोहन रोक्न सरोकारवालाहरुलाई दबाब दिन र कमलाको धार्मिक, पर्यावरणीय महत्वको बारेमा स्थानीयलाई बुझाउँदै संरक्षणमा योगदान पुर्याउन अभियान थालिएको हो।
अभियानका संयोजक विक्रम यादवका अनुसार संवाद यात्राको क्रममा कमला नदीको संरक्षण, पर्यावरणीय सन्तुलन तथा धार्मिक तथा सांस्कृतिक महत्वबारे स्थानीयसँग छलफल हुँदै आएको छ। ‘कमला नदीको संरक्षण, स्वच्छता र धार्मिक महत्वलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले हरेक साताको शुक्रबार संवाद यात्राको क्रमलाई निरन्तरता दिइएको छ,’ उनले भने।



