सिरहा । भारतसँग सीमा जोडिएका बजारहरूमा अवैध रूपमा सञ्चालन भइरहेको नेपाली–भारु मुद्रा सटहीका कारण स्थानीय सर्वसाधारण ठगिन थालेका छन् । भारतीय बजारमा किनमेल तथा औषधि उपचारका लागि जाने क्रममा सीमावर्ती क्षेत्रका नागरिकले अवैध सटही कारोबारमा मनपरी शुल्क तिर्नुपर्दा आर्थिक रूपमा नोक्सानी व्यहोर्नुपरेको गुनासो बढ्दै गएको छ ।
विशेषगरी माडर क्षेत्रका बजारहरूमा नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा सटही गर्दा अनधिकृत रूपमा उच्च दर असुल्ने र रकम गन्ने क्रममा समेत ठगी हुने गरेको स्थानीयको भनाइ छ । अहिले माडर क्षेत्रमा एक सय भारतीय रुपैयाँ लिन नेपाली १६४ देखि १६८ रुपैयाँसम्म तिर्नुपरेको स्थानीयहरू बताउँछन् । तर, उक्त दरअनुसार दिनुपर्ने रकमसमेत पूरा नदिई कम दिने गरिएको आरोप छ ।

स्थानीय स्रोतका अनुसार माडर क्षेत्रमा नेपाली–भारु सटही गर्ने कुनै पनि वैधानिक संस्था वा अनुमतिप्राप्त कारोबार केन्द्र छैन । यद्यपि वर्षौंदेखि केही व्यक्तिहरूले बस स्टेन्ड लगायतका स्थानमा खुलेआम सटही कारोबार गर्दै आएका छन् । तर यति लामो समयदेखि यस्तो गतिविधि भइरहँदा पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन वा कारबाही नगरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
यसैबीच अर्नमा गाउँपालिका–५ कृष्णपुरकी बिना यादवले आफू सटही कारोबारमा ठगिएको गुनासो गरेकी छन् । उनका अनुसार १८ हजार नेपाली रुपैयाँ दिएर १० हजार भारतीय रुपैयाँ लिने सहमति भएको थियो । तर रकम बुझाउँदा सटही गर्ने व्यक्तिले १० हजार रुपैयाँ दिएपछि पुनः पैसा गन्ने बहाना बनाएर ६ हजार रुपैयाँ झिकेर आफूलाई चार हजार रुपैयाँ मात्रै दिएको उनले आरोप लगाइन् ।
पीडित यादवले घटना बारे गुनासो गर्दा पनि कतैबाट सुनुवाइ नभएको भन्दै आफू अन्यायमा परेको बताइन् । यस्ता घटना एक–दुई मात्र नभई पटक–पटक भइरहने गरेको स्थानीयहरू बताउँछन् । तर पीडितहरूले गुनासो गर्दा पनि कारबाही नभएको गुनासो छ ।
स्थानीय बासिन्दाहरूका अनुसार माडर क्षेत्रमा अवैध सटही कारोबार गर्ने समूहको प्रभाव यति बलियो छ कि उनीहरूको गतिविधिमाथि नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न सकेको छैन । केही स्थानीयले त प्रहरी प्रशासनसमेत उनीहरूको प्रभावमा चल्ने गरेको आरोप लगाएका छन् ।
सीमावर्ती क्षेत्रमा भारतीय बजारमा निर्भर स्थानीयहरूका लागि मुद्रा सटही अनिवार्य आवश्यकता भए पनि त्यसको वैधानिक व्यवस्था नहुँदा सर्वसाधारण ठगीको सिकार बन्न बाध्य भएका छन् । स्थानीयले यस्तो अवैध कारोबार नियन्त्रण गर्न र पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायले तत्काल कडाइका साथ अनुगमन तथा कारबाही अघि बढाउनुपर्ने माग गरेका छन् ।



