सिरहा । सिरहा जिल्लामा निर्वाचन प्रहरी छनोटका लागि चौथो चरण अन्तर्गतको अन्तर्वार्ता परीक्षा आज (आइतबार) र भोलि (सोमबार) हुने भएको छ । अन्तर्वार्ता माघ ११ र १२ गते सिरहा नगरपालिका–३ स्थित शंकर रंगशाला (मखनहा फुटबल ग्राउन्ड) मा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
अन्तर्वार्ता परीक्षा दुई दिन र दुई सिफ्टमा सञ्चालन हुनेछ । आज(आइतबार) पहिलो सिफ्ट बिहान ८ बजेदेखि दर्ता नम्बर १ देखि २५०० सम्मका उम्मेदवारहरूको अन्तर्वार्ता लिइनेछ भने दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि दर्ता नम्बर २५०१ देखि ५००० सम्मका उम्मेदवारहरूको अन्तर्वार्ता हुने जनाइएको छ ।
त्यसैगरी भोलि (सोमबार) पहिलो सिफ्ट बिहान ८ बजेदेखि दर्ता नम्बर ५००१ देखि ७५०० सम्मका उम्मेदवारहरूको अन्तर्वार्ता सञ्चालन हुनेछ । दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि दर्ता नम्बर ७५०१ देखि बाँकी सबै उम्मेदवारहरूको अन्तर्वार्ता हुने तालिका सार्वजनिक गरिएको छ ।

प्रवेशपत्रसहित सक्कल नागरिकता अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने तथा परीक्षा सुरु हुनुभन्दा कम्तीमा ३० मिनेट अगाडि तोकिएको केन्द्रमा उपस्थित हुन प्रशासनले अनुरोध गरेको छ । लिखित परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा सहभागी गराइनेछ ।




