सिरहा । सिरहाको नरहा गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकी चन्द्रअयोध्यापुरमा कार्यरत कार्यालय सहयोगी (सहायक पाँचौँ) दिलिप कुमार कामतीको दुःखद निधनप्रति नरहा गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोक बिदा घोषणा गरेको छ ।
गाउँपालिकाका अनुसार माघ ९ गते शुक्रबार कामतीको दुःखद निधन भएको हो । उक्त घटनाप्रति गहिरो शोक व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

नरहा गाउँपालिकाको कार्यालयबाट जारी सूचना अनुसार, माघ ११ गते आइतबारका दिन गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू तथा गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण स्वास्थ्य चौकीलगायत विद्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ ।
स्वास्थ्य सेवामा क्रियाशील कर्मचारीको असामयिक निधनले गाउँपालिकाको सेवा प्रवाह र समुदायलाई अपूरणीय क्षति पुगेको भन्दै सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ ।




