सिरहा । सिरहा नगरपालिका–१, शिवचौकस्थित सिद्धार्थ शिशु निकेतन इङ्गलिश बोर्डिङ्ग स्कुलले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा आयोजित समारोहको अध्यक्षता प्रिन्सिपल तथा समाजसेवी लालबाबू रायले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादव उपस्थित थिए ।
मेयर डा. यादवले विद्यालयले विगत २५ वर्षदेखि जिल्लामा गुणस्तरीय, अनुशासित र प्रतिस्पर्धी शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले निजी शैक्षिक संस्थाहरूले सार्वजनिक शिक्षालाई पूरकको रूपमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा व्यवहारिक, नैतिक र जीवनोपयोगी शिक्षामा थप जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

यस अवसरमा उनले देशको संविधान र विगतका आन्दोलनहरूको परिणामबारे समेत टिप्पणी गर्दै राजनीतिक नेतृत्वलाई आत्मचिन्तन गर्न आग्रह गरे । उनले विगत दुई दशकमा भएका आन्दोलनहरूले जनजीवनमा ठूलो मूल्य चुकाएको, बालबालिकासहित नागरिकले पीडा भोग्नुपरेको र नेताहरूले व्यक्तिगत स्वार्थ त्यागी जनताको वास्तविक समस्या बुझ्नुपर्ने आवश्यकता रहेको बताए । सामाजिक सञ्जालमा लोकप्रियता बढाउने उद्देश्यले जताभावी लेख्ने प्रवृत्तिलाई उनले आलोचना गर्दै जनजीवनका पीडालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
सभा अध्यक्ष रायले विद्यालय स्थापनादेखि हालसम्मको यात्राबारे प्रकाश पार्दै अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूको निरन्तर सहयोगकै कारण विद्यालयले २५ वर्षे यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए । उनले आगामी दिनमा विद्यालयलाई प्रविधिमैत्री, नवप्रवर्तनमुखी र शैक्षिक रूपमा अझ प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
रजत जयन्ती समारोहमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध शैक्षिक–सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । साथै, विद्यालयको शैक्षिक उन्नयनमा योगदान पु¥याउने उत्कृष्ट शिक्षक, विद्यार्थी तथा सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षाविद्, अभिभावक, पूर्व विद्यार्थी, स्थानीय बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले विद्यालयले आगामी दिनमा पनि सिरहा जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।



