सिरहा । सिरहा नगरपालिकाले नगरपालिकाअन्तर्गत कार्यरत एक कर्मचारीको दुःखद निधनप्रति शोक व्यक्त गर्दै आज (मंगलबार) एक दिन शोक विदा घोषणा गरेको छ ।
नगरपालिकाको वडा नं. २२ अन्तर्गत सञ्चालित श्री माध्यमिक विद्यालय, हकपरामा पशु विज्ञान विषयतर्फ ल्याब टेक्निसियनका रूपमा कार्यरत प्रेम किशोर यादवको सोमवार मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो ।
नगरपालिकाका अनुसार यादव नियमित कार्यका सिलसिलामा रहेका बेला भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको निधन भएपछि नगरपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
नगर प्रमुखद्वारा जारी गरिएको शोक विज्ञप्तिमा दिवंगत यादवको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । साथै नगरपालिकाले उक्त दुःखद घटनालाई नगरका लागि अपूरणीय क्षतिका रूपमा उल्लेख गरेको छ ।
यसै सन्दर्भमा, आज (मंगलबार) का दिन सिरहा नगरपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू, नगरपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य चौकीहरू तथा सम्पूर्ण विद्यालयहरूमा शोक विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले शोक विदा सम्बन्धी निर्णय कार्यान्वयनका लागि सबै सम्बन्धित निकाय, कर्मचारी, शिक्षक तथा सेवाग्राहीलाई जानकारी गराएको छ ।
स्थानीय तहमा लामो समयदेखि सेवा दिँदै आएका यादवको निधनले शिक्षा क्षेत्रमा समेत शोकको वातावरण सिर्जना भएको स्थानीयवासीले बताएका छन् ।




