काठमाडौं । गृह मन्त्रालयले दार्चुलमा तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ ।
मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् ।
छानविन समितिलाई १० दिनको समय दिइएको छ ।
गत शुक्रबार व्याँस गाउँपालिकाका ३३ वर्षीय धामी दार्चुलास्थित महाकालीमा तुइनबाट तर्ने भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा उनी नदीमा खसेका थिए ।
तर भारतीय पक्षले भने आफूहरुले तुइन नकाटेको दावी गरेको छ ।