सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाले जिल्लामा पछिल्लो समय जिम्मेवार पत्रकारहरूले सम्प्रेषण गरेका समाचारलाई पीडक पक्षको प्रभावमा परेर बदनाम गर्ने प्रयास भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका सचिव मुकेश कुमार यादवद्वारा माघ ३ गते जारी प्रेस विज्ञप्तिमा केही कथित ‘मिडियाकर्मी’हरूले पत्रकारिताको नाम दुरुपयोग गर्दै पीडितको पक्ष कमजोर पार्ने र सत्य समाचारलाई खण्डन गर्ने गतिविधि गरिरहेको उल्लेख गरिएको छ । विशेषगरी हालसालै पीडित भुट्टा यादवले ‘सुकुम्बासी ठगी’ प्रकरणमा पैसा लेनदेनसम्बन्धी विषयमा कान्तिपुर टेलिभिजन तथा पत्रिकामार्फत सिराहाका एक नेताको नाम सार्वजनिक गरेपछि, केही व्यक्तिहरूले आफूलाई पत्रकारको रूपमा प्रस्तुत गर्दै उनलाई दबाबमा पारेर उल्टो भिडियो बाइट दिन लगाएको विषय सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख छ । महासंघले यस्तो कार्यलाई घोर लज्जास्पद, निन्दनीय तथा मर्यादित पत्रकारिताको मर्मविपरीत भएको ठहर गरेको छ । गैरजिम्मेवार, अनैतिक तथा पीडकको पक्षमा उभिएर पत्रकारिताको नाम बदनाम गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै कडा भत्सना गरिएको छ ।
विज्ञप्तिमा सम्पूर्ण मिडियाकर्मीलाई सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको मूल्य–मान्यता आत्मसात गर्न आग्रह गर्दै, कुनै पनि पत्रकार वा आफूलाई पत्रकारको रूपमा प्रस्तुत गर्ने व्यक्तिले पीडित पक्षलाई लोभ, दबाब, डरत्रास वा अन्य कुनै माध्यमबाट प्रभावित पार्ने कार्य नगर्न कडा चेतावनी दिइएको छ ।
महासंघले मर्यादित, जिम्मेवार र पेशागत पत्रकारिता गर्न नसक्ने व्यक्तिलाई आफ्नो आचरणअनुसार अन्य पेशा अवलम्बन गर्न समेत सुझाव दिएको छ । यस्ता गतिविधि दोहोरिएमा आवश्यक छानबिन तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग पहल गरिने पनि स्पष्ट पारिएको छ ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाले सधैं सत्यको पक्षमा उभिने, पीडितको आवाज बुलन्द गर्ने तथा प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।




