सिरहा । आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ भव्य रूपमा मनाइएको छ । आइतबार नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डाको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गरिएको थियो ।
हरेक वर्ष पौष २७ गते मनाइने यो दिवसले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व र राष्ट्र निर्माणमा उहाँले पु¥याएको योगदानलाई स्मरण गराउँदै आएको छ । यसपटक आयोजित कार्यक्रममा नेपाली सेनामा भर्ना छनोट प्रक्रिया, सेनाका गतिविधि झल्काउने फोटो प्रदर्शनी तथा सर्पदंशसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रस्तुत गरियो ।
कार्यक्रममा सप्तरी जिल्लाबाट सहभागी श्री बरख गणद्वारा सेनाका विविध गतिविधिहरू समेटिएको आकर्षक फोटो प्रदर्शनी गरिएको थियो भने चोहर्वा ब्यारेकमा तैनाथ श्री नन्दाबक्स गणले सर्पदंशबाट जोगिने व्यवहारिक उपायबारे जानकारी प्रदान गरेका थिए । सिरहा जिल्लाका करिब १५० जना छात्र–छात्राले कार्यक्रममा सहभागिता जनाएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि, श्री नं. २७ वाहिनीपति सहायक रथी नारायण बहादुर थापाले राष्ट्रनिर्माताको योगदान स्मरणसँगै बाल्यकालदेखि देशप्रेमको भावना विकास गर्नु आवश्यक रहेको बताए । उनले इतिहासको सही ज्ञानले बालबालिकामा राष्ट्रिय दायित्व र जिम्मेवारीको भावना विकास हुने उल्लेख गर्दै नेपाली सेनाले देशभरका विद्यालयहरूसँग सहकार्य गरी शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रमको विशेष आकर्षण विद्यार्थीहरूबीच सम्पन्न “राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता रह्यो । उत्कृष्ट विद्यार्थी स्वस्तिक पाठशालाका छात्र तेजस सिंहलाई सहायक रथी थापाले ब्रिगेड मेमेन्टो प्रदान गरे ।
आयोजक तथा सहभागीहरूले कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई जीवन्त रूपमा स्मरण गर्दै युवा पुस्तामा राष्ट्रप्रेम, राष्ट्रिय एकता र जिम्मेवारीको भावना अभिवृद्धि भएको बताए ।



