सिरहा । सिरहा नगरपालिका–७ का युवा नेता तथा समाजसेवी डा. प्रवीणकुमार यादवले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै अपाङ्गता भएका दुई महिलालाई व्हीलचेयर सहयोग गरेका छन् ।
डा. यादवले सिरहा नगरपालिका वडा नं. २ र ७ की अपाङ्गता भएकी एक÷एक महिलालाई सहयोगस्वरूप व्हीलचेयर प्रदान गरेका हुन् । यस मानवीय पहलले अपाङ्गता भएका व्यक्तिहरूप्रति सहानुभूति, सहयोग र समावेशी सोचको सशक्त सन्देश प्रवाह गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा डा. यादवले अपाङ्गता भएका व्यक्तिहरूले दैनिक जीवनमा भोग्नुपर्ने कठिनाइलाई आत्मसात् गर्दै उनीहरूको दैनिकी सहज बनाउने उद्देश्यले आफू यो अभियानमा जुटेको बताए ।

उनले भने, “अपाङ्गता कमजोरी होइन, अवसर र सहयोगको अभाव मात्र हो । समाजले साथ दिए अपाङ्गता भएका व्यक्तिहरू पनि आत्मनिर्भर र सम्मानित जीवन बाँच्न सक्छन् ।”
व्हीलचेयर प्राप्त गरेका महिलाहरूले सहयोगप्रति आभार व्यक्त गर्दै लामो समयदेखि आवतजावत र दैनिक कामकाजमा समस्या भोग्दै आएको बताइन् । “अब बाहिर निस्कन र दैनिक गतिविधि गर्न सजिलो हुने भयो,” भन्दै उनीहरूले खुशी व्यक्त गरे । परिवारजनका अनुसार यस सहयोगले उनीहरूको जीवनमा ठूलो राहत मिलेको छ ।
स्थानीय समाजसेवी तथा बासिन्दाहरूले डा. यादवको यस कार्यको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका अनुसार यस्ता सामाजिक पहलले समुदायमा सकारात्मक सोचको विकास गर्नुका साथै अन्य व्यक्तिहरूलाई पनि सामाजिक सेवातर्फ प्रेरित गर्ने काम गर्दछ ।
एक स्थानीय बासिन्दाले भने, “राजनीतिक सक्रियतासँगै सामाजिक सेवामा पनि अग्रसर युवा नेताको भूमिका अनुकरणीय छ ।” डा. प्रवीणकुमार यादव पछिल्लो समय शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन् ।
उनका यस्ता मानवीय पहलहरूले समाजका कमजोर तथा सीमान्तकृत वर्गप्रति सहयोग, सहानुभूति र समावेशी विकासको सन्देश प्रवाह गरिरहेको स्थानीयहरूको भनाइ छ ।



