काठमाडौं । बंगलादेशमा युवा नेता उस्मान हादीको हत्यापछि चुनावपूर्व राजनीतिक हिंसा जारी छ ।

यसैक्रममा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को स्वयंसेवी शाखा स्वेच्छासेवक दलका नेता अजिजुर रहमान मुसब्बिरको मंगलबार राति हत्या गरिएको छ ।

डेली स्टारको रिपोर्टअनुसार बीएनपी स्वयंसेवक दलका महासचिव मुसब्बिरलाई ढाकाको कारवान बजारस्थित सुपर स्टार होटलनजिकै राति करिब साढे ८ बजे अज्ञात आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् ।

ढाका महानगर प्रहरीका अतिरिक्त प्रहरी उपरीक्षक फजलुल करिमका अनुसार मुसब्बिरलाई पन्थपाठस्थित बीआरबी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

यसै आक्रमणमा तेजगाउँ थाना वन श्रमिक युनियनका महासचिव सुफियान मसुद घाइते भएका छन् । पार्टी सदस्यका अनुसार मुसब्बिर साँझ एक कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि मुसब्बिर र मसुद नजिकैको गल्लीमा जाँदै गर्दा दुई जनाले गोली चलाए । आक्रमणकारीहरू पैदलै भागेका थिए ।

घटनापछि स्थानीय बीएनपी कार्यकर्तासहितको समूहले सोनारगाँउ चोकनजिकै विरोध प्रदर्शन गरेका छन् ।

परिवारजन र पार्टी सदस्यका अनुसार मुसब्बिरले अवामी लिग शासनकालमा धेरै समय जेलमा बिताएका थिए र राजनीतिक मुद्दामा बारम्बार पक्राउ परेका थिए ।

फेब्रुअरी १२ मा हुने राष्ट्रिय चुनावअघि हिंसा बढेपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारमाथि प्रश्न उठिरहेको छ ।

उस्मान हादीका परिवारजनले पनि चुनाव स्थगित गर्न उनको हत्या गरिएको आरोप युनुसमाथि लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय