काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्व परिवर्तन गरेर जानुपर्ने अडानमा रहेका कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा पछिल्लो समय एक्लिन थालेका छन् ।

सम्भव भए नियमित महाधिवेशन र त्याे सम्भव नभए विशेष महाधिवेशन गरेर भएपनि नयाँ सभापतिकाे नेतृत्वमा चुनावमा जानुपर्ने पक्षमा रहेका शर्मा र थापालाई पछिल्लो समय उनीहरू पक्षकै नेताहरूले साथ छाडेपछि एक्लिन थालेका हुन् ।

यही पुस २७ देखि २९ गतेसम्म गर्ने भनिएको कांग्रेस १५ औँ महाधिवेशन उक्त मितिमा गर्न असम्भव देखिएपछि १८ पुसमा बसेकाे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले वैशाख २८ देखि ३१ गतेसम्म काठमाडाैंमा गर्ने निर्णय गरेकाे थियाे । तर उक्त निर्णयमा फरकमत राख्दै महामन्त्री थापाले पुसमा नियमित महाधिवेशन गर्न सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने माग राखेका थिए । थापाकाे उक्त मागमा भन्दा वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा धेरै नेताहरू देखिँदा थापा र शर्मा एक्लिन थालेका छन् ।

यस्तै सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीहरूले गरेको विषय महाधिवेशनको मागलाई बेवास्ता गर्नु र महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता अभियान चलाउन थालेपछि महामन्त्रीहरूकाे विशेष महाधिवेशनकाे माग मधुर बन्दै गएकाे छ ।

नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको कांग्रेस संस्थापन पक्षको आवाज बलियो हुँदै जाँदा र संस्थापन इतर समुहबाटै महामन्त्रीहरूले साथ पाउ छाडेका छन् । पहिला विशेष महाधिवेशन गरेर भएपनि नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाएकाे कांग्रेस संस्थापन इतर समूहका कतिपय नेताहरु अहिले नियमित महाधिवेशनमै जानुपर्ने पक्षमा उभिएका छन् ।

कांग्रेस इतर समूहका प्रभावशालि नेता डा. शेखर कोइराला पनि अहिले नियमित महाधिवेशनमै जानुपर्ने पक्षमा उभिएका छन् । उनले केन्द्रीय कार्यसमितिको बहुमतले गरेको निर्णय विरुद्ध जान नसकेको जनाउँदै कोइरालाले वैशाखमै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका  छन् ।

यस्तै महाधिवेशनको विषयमा विवाद उत्पन्न भएपछि कांग्रेसका पाँच वटा प्रदेशका सभापतिले नियमित महाधिवेशनमै केन्द्रित हुन अपिल गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै नियमित महाधिवेशनमै केन्द्रित हुन उनीहरूको आग्रह छ ।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशीका सभापति उद्धव थापा, मधेसका सभापति कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले नियमित महाधिवेशनमै केन्द्रित हुन अपिल गरेका हुन् । उनीहरूले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै संयुक्त विज्ञप्ति पेस गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय