सुरेन्द्र कुमार कामती
सिरहा । समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई सामाजिक सञ्जालमार्फत् गालीगलौज गरेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सिरहाका उपसभापति जितेन्द्र यादव प्रहरी नियन्त्रणमा परेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका सिरहाका संवाददाता विनय आजादलाई फेसबुकमार्फत् व्यक्तिगत गालीगलौज गरेको उजुरीपछि यादवलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । साँझतिर गल्ती स्वीकार गर्दै आइन्दा यस्तो व्यवहार नगर्ने प्रतिबद्धता जनाएपछि उनलाई कागज गराएर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माका अनुसार, समाचारप्रति असन्तुष्टि भए कानुनी र संस्थागत बाटो अपनाउन सकिने भए पनि व्यक्तिगत मानहानीमा उत्रनु गलत भएको स्पष्ट पारिएको छ । “अबदेखि यस्ता गतिविधि दोहोरिए कानुनी कारबाही अघि बढाइनेछ,” उनले भने ।
पत्रकार आजादमाथि गालीगलौज भएको घटनाको पृष्ठभूमिमा नेपाली कांग्रेस सिरहाले जनवरी १ मा धनगढीमाई नगरपालिका–स्थित सरेअम्बासमा आयोजना गरेको वनभोज कार्यक्रम जोडिएको छ । कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवको अगुवाइमा भएको उक्त कार्यक्रम सार्वजनिक खर्च, सुविधा र विभेदको आरोपका कारण विवादित बनेको थियो ।
वनभोज कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टरमार्फत् सहभागी भएका थिए भने मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव सरकारी गाडी प्रयोग गरी पुगेका थिए । साथै, कार्यक्रममा नेताहरूलाई मटन र सर्वसाधारणलाई चिकेन खुवाइएको विषय पनि सार्वजनिक भएको थियो ।
यिनै विषयमा समाचार प्रकाशित गरेपछि पत्रकार आजादलाई सामाजिक सञ्जालमार्फत् गाली गरिएको हो । गालीगलौजमा संलग्न जितेन्द्र यादव कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवका आफन्त रहेको पनि खुल्न आएको छ ।
पत्रकार महासंघ र सञ्चारकर्मीहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रेस स्वतन्त्रतामाथिको आक्रमण कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय