जनकपुरधाम । टिकटकमा एक–अर्काको धर्म र संस्कृतिलाई लक्षित गर्दै गरिएको अभद्र टिप्पणीका कारण मधेस प्रदेशका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव उत्पन्न भएको छ। धनुषाबाट सुरु भएको विवादको असर पर्साको वीरगञ्जसम्म फैलिँदा प्रदेशभर सुरक्षा सतर्कता अत्यन्तै कडा पारिएको छ।
केही दिनअघि जनकपुरका हैदर अन्सारी र अमानत अन्सारी नाम गरेका दुई युवाले टिकटकमा धार्मिक सहिष्णुतामा खलल पुग्ने खालका भिडियो पोस्ट गरेका थिए। ती भिडियोले सामाजिक सद्भाव बिग्रन सक्ने अवस्था देखिएपछि स्थानीयले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेकै बेला पक्राउको विरोधमा एक समूह आक्रोशित बनेपछि स्थिति तनावग्रस्त भएको थियो। सोही क्रममा एक मस्जिदमा आक्रमणसमेत भएको जनाइएको छ। धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेश बमका अनुसार मस्जिदमा आक्रमणमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको यही घटनालाई लिएर आज बिहानदेखि पर्साको वीरगञ्जमा प्रदर्शन भइरहेको छ। स्थिति थप बिग्रन नदिन मधेस प्रदेशका आठै जिल्लामा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। एक उच्च सुरक्षा अधिकारीका अनुसार सम्भावित जोखिम न्यूनीकरण गर्दै सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण सुरक्षा संयन्त्रलाई ‘हाइअलर्ट’ मा राखिएको छ।



