सिरहा । सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित गोठियाले सामाजिक सञ्जालमार्फत नगरपालिका प्रशासनभित्रको कर्मचारी व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
गोठियाले प्रश्न उठाउँदै लेखेका छन् कि नगरपालिका भित्र भइरहेको जिम्मेवारी फेरबदल वास्तवमै कर्मचारीको योग्यता र कार्यक्षमताको आधारमा गरिएको हो कि फेरि नाताबाद, कृपावाद र आफ्ना मान्छे सेट गर्ने खेल दोहोरिएको छ। उनले योग्य र इमान्दार कर्मचारीलाई पाखा लगाएर आफ्ना समर्थकलाई अगाडि बढाउने र भ्रष्टाचार निम्त्याउने षडयन्त्र भइरहेको छैन कि भनेर स्पष्ट जवाफ मागेका छन्।

उनले भने, “नगरपालिका जनताको सेवा गर्ने सार्वजनिक संस्था हो, लुटको अखडा होइन। यदि जिम्मेवारी बाँडफाँड योग्यता र मेहनतको आधारमा नभई नाता–कृपाको आधारमा भइरहेको छ भने यसविरुद्ध युवा र जनताको आवाज चुप बस्ने छैन।”
वडाध्यक्ष गोठियाले सिरहा नगरपालिकाभित्रको विद्यालय शिक्षा सुधार, गरीब विद्यार्थीको शिक्षामा ध्यान दिनुपर्ने र दक्ष, ईमान्दार कर्मचारीलाई मात्र जिम्मेवारी दिने आवश्यकता रहेको उल्लेख गरेका छन्।



