सिरहा । सिरहा सहित मधेस प्रदेशमा अत्यधिक हुस्सु, चिसो हावा र शीतलहर बढ्दै गएपछि सिरहा नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत विद्यालयमा दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ।
नगर प्रमुखको आदेशअनुसार २०८२ साल पुस १३ र १४ गते (दुई दिन) नगर क्षेत्रका सबै संस्थागत विद्यालय बन्द रहनेछन्। नगरपालिकाले जारी गरेको आधिकारिक सूचनामा हालको मौसम अवस्थाका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, निमोनिया लगायतका स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले अस्थायी रूपमा विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।

पछिल्ला केही दिनयता सिरहासहित मधेसका विभिन्न जिल्लामा बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। बिहान र बेलुकाको समयमा चिसो झन् बढ्दा विद्यालय जाने बालबालिकालाई प्रत्यक्ष असर परिरहेको जनाइएको छ। यही अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य जोखिम कम गर्न जाडो बिदाको निर्णय लिएको हो।
नगरपालिकाका अनुसार मौसममा सुधार आएपछि विद्यालय सञ्चालनबारे थप सूचना जारी गरिनेछ। साथै अभिभावकहरूलाई बालबालिकालाई चिसोबाट जोगाउने, न्यानो कपडा लगाउने तथा स्वास्थ्यमा समस्या देखिएमा तत्काल उपचार गराउने विषयमा सचेत रहन आग्रह गरिएको छ।
नगरपालिकाको यो निर्णयले नगर क्षेत्रका हजारौँ विद्यार्थीलाई चिसोबाट जोगिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अभिभावक तथा विद्यालय व्यवस्थापन पक्षले पनि नगरपालिकाको निर्णयलाई सकारात्मक रूपमा लिँदै विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक कदम भएको प्रतिक्रिया दिएका छन्।



