सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरूविरुद्ध आपत्तिजनक टिप्पणी गरिएको आरोप लगाउँदै राजविराजमा शुक्रबार दुई संगठनले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा राष्ट्रिय बजरङ्ग दल र हिन्दु सम्राट सेनाका समर्थक कार्यकर्ताहरूले नाराबाजी गर्दै बजार बन्द गराएका हुन्।

उनीहरूले राजविराज निवासी अफरोज आलमले सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको भन्दै उहाँमाथि कानुनी कारबाहीको माग गरेका छन्। बन्दका कारण राजविराजबाट सञ्चालन हुने छोटो तथा लामो दूरीका यातायात सेवा ठप्प भएका छन् भने सरकारी कार्यालयहरूमा पनि आंशिक असर परेको छ। सप्तरी जिल्ला अदालतले सूचना टाँस गरी एक दिनका लागि सेवा प्रवाह स्थगित गरेको छ।

हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासका अनुसार हिन्दु धर्मावलम्बीको आस्थामा चोट पुग्ने गरी सामाजिक सञ्जालमा गरिएको टिप्पणीमाथि कारबाही हुनुपर्छ।

यसअघि राष्ट्रिय बजरङ्ग दल, हिन्दु सम्राट सेना तथा श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेका थिए।

ज्ञापनपत्रमा राजविराज नगरपालिका वडा नम्बर १ रहमतपुर टोल निवासी अफरोज आलमले भगवान् श्रीकृष्णलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अत्यन्त अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेको आरोप उल्लेख गरिएको छ।

यता, आलमले भने तीन वर्षअघि भूलवश त्यस्तो टिप्पणी भएको स्वीकार गर्दै क्षमायाचना गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नै यस्तो कार्य दोहोर्‍याउने छैनन् भन्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय