सिरहा । अत्यधिक शितलहर, चिसो हावा, बाक्लो कुहिरो र न्यून तापक्रमका कारण जनजीवन कष्टकर बन्दै गएको बेला नेपाली सेनाको श्री नन्दाबक्स गण, चोहर्वाले शितलहरबाट प्रभावित समुदायलाई राहत सामग्री वितरण गर्दै मानवीय उदाहरण प्रस्तुत गरेको छ ।
नेपाली सेनाको उक्त गणबाट खटिएको टोलीले आज (बुधबार) जिल्लाको गोलबजार नगरपालिका–१० अन्तर्गत बुद्ध चोक विचला टोल तथा धोविया धार क्षेत्रमा बसोबास गर्ने दलित मुसहर समुदायलाई १ ट्रक सुकेको दाउरा वितरण गरेको हो ।
वडा नं. १० का वडा अध्यक्ष उपेन्द्र कुमार मुखियाको रोहबरमा सम्पन्न वितरण कार्यक्रममा शितलहरका कारण अत्यधिक प्रभावित स्थानीय बासिन्दालाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
यस कठिन समयमा नेपाली सेनाले देखाएको सक्रियता र सहयोगप्रति वडा अध्यक्षसहित स्थानीय बासिन्दाहरूले श्री नन्दाबक्स गण परिवार तथा समग्र नेपाली सेनाप्रति धन्यवाद व्यक्त गरेका छन् । उनीहरूले यस्ता मानवीय कार्यले सैनिक–नागरिक सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय