सिरहामा आयोजना गरिएको निःशुल्क मुटु रोग परीक्षण शिविरमा मुटु जाँच गराउनेको ठूलो भिड लागेको छ। बिहानैदेखि महिला तथा पुरुषहरू लाइनमा बसेर मुटु जाँच गराइरहेका छन्।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा आयोजना गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा मुटु जाँचसँगै निःशुल्क औषधि वितरणसमेत गरिएको छ। शिविरमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक तथा सिनियर कार्डियोलोजिस्ट प्रा. डा. रवि मल्लको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरिरहेको छ।

शिविर आयोजना गरेका डा. प्रवीणकुमार यादवका अनुसार निःशुल्क मुटु परीक्षण गराउन बिहानैदेखि सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। पोर्टेबल इको र इसिजी मेसिनसहित केन्द्रका डिएम कार्डियोलोजिस्ट चार जना, मेडिकल अधिकृत ६ जनासहित २२ जनाको स्वास्थ्यकर्मी टोली शिविरमा खटिएको छ।

पहिलो दिनमै पाँच सयभन्दा बढी सेवाग्राहीको इको र इसिजी परीक्षण गरिएको डा. यादवले जानकारी दिए। शिविरमा जाँचका क्रममा जटिल मुटु रोग देखिएका बिरामीहरूको थप उपचार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क रूपमा गरिने व्यवस्था गरिएको छ।

दुईदिने शिविर भएकाले सिरहा सदरमुकामका विभिन्न वडा तथा आसपासका स्थानीय तहबाट मुटु जाँच गराउन आउनेको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। मुटु जाँचका क्रममा सम्भावित जोखिमबारे तथ्यांक संकलनसमेत भइरहेको डा. यादवले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!