काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सशस्त्र प्रहरी बलले छुट्टै ‘निर्वाचन प्रहरी बल’मा भर्ना लिने भएको छ । यसअघि हरेक निर्वाचनमा प्रहरीले मात्रै निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्दै आएको थियो ।

यसपटक म्यादी प्रहरी नभनेर ‘निर्वाचन सुरक्षा प्रहरी’ शीर्षकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले छुट्टाछुटै भर्ना लिन लागेका हुन् ।

प्रहरीले एक लाख ३० हजारहाराहारी भर्ना लिन लागेको छ भने सशस्त्र प्रहरी बलेले समेत छुट्टै १५ हजारभन्दा बढीको संख्यामा भर्ना गर्न लागेको हो ।

दुवै संगठनका तर्फबाट करिब एक लाख ४५ हजारभन्दा बढीको संख्यामा सुरक्षाकर्मी थपिने गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले बताए । उनले दुवै संगठनले निर्वाचन प्रहरी भर्ना गर्नेगरी एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरिएको जानकारी दिए ।

यो प्रक्रिया केही दिनभित्रै सुरु हुने बताइएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनीष थापाले सशस्त्रले निर्वाचनलाई लक्षित गर्दै १५ हजार भन्दा बढी भर्ना गर्न लागिएको जानकारी दिए ।

उनले भने, “हामीले भर्ना लिन लागेको निर्वाचन प्रहरीलाई हामीले नै तालिम र खटनपटन गर्ने हो ।”

प्रतिनिधिसभा स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत सुरक्षा योजनाअनुसार परिचालन हुनेछन् ।

निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र ‘निर्वाचन प्रहरी’ अनि अन्तिम घेरामा नेपाली सेनाको टोली रहनेछ ।

सेना, प्रहरी र सशस्त्र प्रहरी बलले निर्वाचनलक्षित गस्ती थालिसकेका छन् । निर्वाचनको विषयलाई लिएर हुन सक्ने तोडफोड, आगजनीजस्ता क्रियाकलाप नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुुरक्षा संगठनहरूले उमेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्त्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचारप्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनमा सुरक्षा चुनौती हुन सक्ने भन्दै यसका लागि विभिन्न रणनीति तय गरेका छन् ।

यस्तै, निर्वाचनलक्षित अराजक, उच्छृंखल, आपराधिक क्रियाकलाप एवं गुन्डागर्दी गर्ने विभिन्न समूहमाथि प्रहरीले निगरानी बढाएको छ ।

गत भदौ २४ मा भएको प्रदर्शनमा लुटिएका हातियार सुरक्षा जोखिम हुन सक्ने आकलन गर्दै प्रहरीले ती हतियार बरामद गर्न विशेष टोली निर्माण गरी परिचालन गरेको छ ।

हालसम्म लुटिएका एक हजार तीन हतियारमध्ये अधिकांश बरामद भएको प्रहरीको दाबी छ । निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन आवश्यक तयारीका निमित्त नेपाल प्रहरी प्रधान कार्यालयले कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ ।

जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागनु २१ मा प्रतिनिधिसभा चुनावको मिति तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय