सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका निलम्बित मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेको मुद्दामा अदालतमा बयान फेर्नेमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जसोधा कुमारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कल्याणपुर नगरपालिका-६ स्थित भोक्राहामा २० लाख बजेटमा निर्माण भएको नालाका उपभोक्ता समितिसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार ३२ मा मेयर साहलाई अख्तियारले कार्यालयबाटै पक्राउ गरेको थियो । जसोधा यसै उपभोक्ता समितिका अध्यक्ष हुन् ।

अख्तियारमा जसोधा र उपभोक्ता समितिले निर्णय नै गरी काम गर्ने जिम्मेवारी दिएका स्थानीय कुशेश्वर साहले संयुक्त रूपमा दिएको उजुरी दिएका थिए । तर, कुशेश्वर अडिग रहे पनि जसोधाले भने विशेष अदालतमा कात्तिक ५ मा बकपत्रका क्रममा आफूलाई केही थाहा नभएको भन्दै बयान फेरेकी थिइन् ।

अख्तियारले उनीमाथि पनि एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र बिगो जरिवाना सजाय गर्नुपर्ने आरोपपत्रमा उल्लेख गरेको छ ।

अख्तियारले निलम्बित मेयर साहमाथि गत साउन २३ मा विशेष अदालतमा घुस रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धि मुद्दा दायर गरेको थियो । आयोगले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद माग दाबी गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय