सिरहा । सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित गोठियाले कडा असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश पोख्दै पुल निर्माणका लागि जनस्तरबाटै चन्दा संकलन अभियान सुरु गरिएको घोषणा गरेका छन्।

गोठियाले आफ्नो फेसबुक स्टाटसमार्फत देशको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन्। “एउटा पुल बनाउन पनि जनता आफैंले चन्दा उठाउनुपर्ने अवस्था आयो, यो सरकारका लागि लाजमर्दो विषय हो,” उनले लेखेका छन्। उनका अनुसार मधेश क्षेत्रको विकासमा लामो समयदेखि राज्यको ध्यान नपुगेको भन्दै उनले “मधेश नेपाल भित्र छैन जस्तो अनुभूति भइरहेको” उल्लेख गरेका छन्।

उनले कर तिरेका नागरिकले आधारभूत भौतिक पूर्वाधारका लागि फेरि चन्दा उठाउनुपर्ने अवस्थामाथि प्रश्न उठाएका छन्। “हामी जनताले पसिना बगाएर कमाएको पैसाबाट तिरेको कर सरकारले लिएको छ, तर एउटा पुल बनाउन नसक्ने हो भने कर किन तिर्ने?” भन्ने प्रश्न उनले उठाएका छन्।

कमला नदीमा पक्की पुल नहुँदा वर्षेनी वर्षायाममा सिरहा र धनुषाका बासिन्दा ठूलो समस्यामा पर्ने गरेका छन्। आवतजावत कठिन हुनुका साथै बिरामी बोकेर अस्पताल लैजान, विद्यार्थीलाई विद्यालय पुग्न र किसानलाई बजारसम्म पुग्न समस्या हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ।

सुरु भएको चन्दा अभियानमा स्थानीय युवा, समाजसेवी तथा सर्वसाधारणले साथ दिन थालेको बताइएको छ। उनले विशेषगरी युवाहरूलाई “आफ्नो एक दिनको खर्च” पुल निर्माणको लागि सहयोग गर्न आह्वान गरेका छन्।

उनले पुललाई चुनावी नारा मात्र बनाउने नेताहरूप्रति पनि आक्रोश पोखेका छन्। “अब आउने चुनावमा कमला पुलको नाममा भोट माग्न आउने नेताहरूलाई गाउँ फर्काइदिनुपर्छ,” उल्लेख गर्दै उनले विकासलाई केवल आश्वासनमा सीमित नराख्न चेतावनी दिएका छन्।

स्थानीय स्तरमा उठेको यस पहलले कमला पुल निर्माणको विषयलाई फेरि राष्ट्रिय बहसमा ल्याएको छ। तर सरकार र सम्बन्धित निकायले यस विषयमा औपचारिक प्रतिक्रिया जनाइसकेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय