चितवन । जिल्ला कारागार चितवनमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा करिब ३० जना कैदीबन्दी त्रिपालमुनि बस्न बाध्य बनेका छन्। भवनभित्र सुत्ने पर्याप्त ठाउँ नपुग्दा उनीहरू रातभरि बाहिर त्रिपालमुनि समय बिताउनुपरेको कारागार कार्यालयले जनाएको छ।
जेनजी आन्दोलनपछि भागेर पुनः फर्किएका ४६ जनामध्ये अधिकांशलाई स्थानान्तरण गर्दा कोठामा ठाउँ नपुगेपछि त्रिपालमुनि राखिएको हो। कारागारका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार दुई स्थानमा १५–१५ जनाका दरले कैदीबन्दी राख्नुपरेको छ। कैदीबन्दीको चाप दैनिक बढ्दै गएपछि यस्तो बाध्यता सिर्जना भएको उनले बताए।

ढुङ्गानाका अनुसार विगतमा पनि कैदीबन्दीलाई त्रिपालमुनि बस्नुपर्ने अवस्था बनेको थियो। गत आर्थिक वर्षमा केही स्थानमा जस्ता हालेर सुधार गरिए पनि चिसो र गर्मीको मौसममा त्रिपालमुनि बस्दा कैदीबन्दीलाई ठूलो कठिनाइ हुने गरेको उनले बताए। “भित्र बस्ने ठाउँ पर्याप्त छैन। चिसोको कारण बिरामी पर्छन् कि भन्ने चिन्ता छ,” उनले भने।
यस वर्ष पनि त्रिपालमुनि रहेका ठाउँमा जस्ता हाल्ने योजना रहेको कारागार कार्यालयले जनाएको छ।
जिल्ला कारागारमा हाल ६३० कैदीबन्दी छन्, जसमा ५९३ पुरुष, ३७ महिला तथा दुई जना आश्रित समावेश छन्। कारागारको क्षमता भने ३० महिला र ४७५ पुरुषको मात्र हो।
गत भदौ २५ गते भागेका ७४३ कैदीबन्दीमध्ये अझै ११३ जना फर्कन बाँकी छन्, जसमा दुई बालबालिका पनि छन्। बाँकी कैदीबन्दी फर्कँदै गएमा थप कैदीबन्दीलाई त्रिपालमुनि राख्नुपर्ने अवस्था अझ गम्भीर हुने कारागार प्रशासनले जनाएको छ।



