सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएका छन् । प्रशासकीय अधिकृत उपसचिव कमलबहादुर थापा कार्यालयमा कसैलाई जानकारी नै नगराई सम्पर्कविहीन भएका हुन् ।

थापा मंसिर १४ गतेदेखि नै नगरपालिकाको सम्पर्कमा नरहेको र आफूलाई समेत कुनै जानकारी नगराएको कार्यबाहक नगर प्रमुख रेखा यादवले बताइन् । ‘उहाँ १४ गतेदेखि नै कार्यालय आउनुभएको छैन,’ उनले भनिन्, ‘जाँदा कम्तीमा मलाई पनि जानकारी दिनुपर्थ्यो, तर छैन ।’

स्थानीय सरकार सञ्चालन ऐनमा कार्यालय प्रमुख अनुपस्थित रहने अवस्थामा निमित्त प्रमुख अनिवार्य तोक्नुपर्ने व्यवस्था छ । तर, थापाले कसैलाई निमित्तसमेत नतोकी हिँड्दा सेवाग्राहीको दैनिक कामकाज प्रभावित बन्न पुगेको छ ।

‘नगरपालिकामा स्वभाविक रूपमा दैनिक सयौं मानिस कामकाजका लागि आउँछन्, तर प्रमुख प्रशासकीय अधिकृत नहुँदा धेरै सेवाग्रही फर्किन बाध्य छन्,’ स्थानीय किशोरी यादवले भने, ‘उहाँ विरलै कार्यालयमा देखिनुहुन्छ ।’

यस विषयमा नगरपालिकाले बुधबार जिल्ला प्रशासन कार्यालय, सिरहा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौंलाई लिखित जानकारी पनि गराएको छ । तर, कतैबाट सुनुवाइ नभएको कार्यबाहक नगर प्रमुख यादवले गुनासो गरिन् ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले प्रमुख प्रशासकीय अधिकृत थापा आफूहरूको पनि सम्पर्कमा नरहेको बताए । ‘उहाँ हाम्रो सम्पर्कमा पनि हुनुहुन्न,’ उनले भने, ‘कामकाज प्रभावित हुन नदिन हामी सल्लाह गर्दैछौं ।’

यस विषयमा कुरा गर्न प्रमुख प्रशासकीय अधिकृत थापासँग पटक-पटक सम्पर्कको प्रयास गर्‍यो । तर, फोन गएपनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय