काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बीआईएन) पावर समिट– २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञले बताएका छन् ।
भारतीय उद्योग परिसंघ (सीआईआई)ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (बीआईएन)को ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमी र सरकारी अधिकारीहरूको सहभागिता थियो ।

नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा पाँच सदस्यीय टोलीले सम्मेलनमा भाग लिएको थियो । त्यस्तै, सरकारका तर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं विद्युत् विकास विभागका उपमहानिर्देशक नुतनकुमार शर्मा नेतृत्वको टोली सहभागी भएको थियो ।
‘एक्सिलेरेटिङ इन्भेस्टमेन्ट इन पावर सेक्टर इन्टरभेष रिक्वायर्ड’ विषयक सत्रमा धारणा राख्दै इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रमा तीव्र लगानी बढाउन बीआईएन देशहरूमा नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए ।
नेपाल सरकारले सन् २०३५ भित्र साढे २८ हजार मेगावाट विद्युत् उत्पादन पुर्याउने लक्ष्य लिएर अघि बढेको स्मरण गराउँदै वरिष्ठ उपाध्यक्ष डाँगीले त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले बीटूबी लगानी लिएर नेपाल आउन आग्रह गरेका थिए ।
त्यस्तै, उनले नेपालमा अहिले चार हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुगिसकेको, साढे पाँच हजार मेगावाट क्षमताका आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माणाधीन रहेको र अर्को तीन हजार मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अन्तिम तयारीमा रहेको पनि बताए । त्यसबाहेक निजी क्षेत्रले अर्को २० हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाकोको अध्ययन गरिरहेको पनि डाँगीले बताएका थिए ।
छलफलमा भाग लिएका प्राधिकरणका उपकार्यकारी निर्देशक सुभाषकुमार मिश्रले बीआईएन विद्युत् व्यापारमा केही चुनौती भए पनि योजना र विशिष्ट रणनीति बनाएर अघि बढेमा विद्युत् व्यापारलाई तीव्रता दिन सकिने बताए ।
इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामाले पहिले विद्युत् व्यापार दीर्घकालीन आधारमा हुने गरेको भए पनि अहिले भारतले ल्याएको नयाँ क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका अनुसार डे अहेड मार्केटमा दैनिक रूपमा पनि अन्तरदेशीय व्यापार सम्भव भएको बताए ।
नेपालबाट अहिले भारतमा एक हजार मेगावाटभन्दा बढी र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । बंगलादेशमा निर्यात भइरहेको विद्युतको महसुल स्थिर रहेको र भारतीय बजारमा स्थिर र डेअहेड दुवै तरिकालेआयात/निर्यात भइरहेको पनि लामाले बताए ।
अझै पनि, क्रस बोर्डर विद्युत् एक्सचेन्जमा व्यापार प्रारम्भिक चरणमा रहेकाले यस क्षेत्रमा विद्युत् एक्सचेन्जहरूको प्रवेश बढाउन उचित रणनीति बनाउनु आवश्यक रहेको लामाको भनाइ थियो ।



