सिरहा । शिक्षा ऐन २०२८, शिक्षा नियमावली तथा विद्यालय संचालन निर्देशिकाले पठन–पाठनको समयमा बिद्यालय भवन, कक्षाकोठा र परिसर कुनैपनि गैरसरकारी संस्थाले प्रयोग गर्न नपाइने कानुनले प्रष्ट भनिएको छ ।प्रयोग गर्दा स्थानिय तह,शिक्षा कार्यालय लगायतका सम्बन्धित निकायबाट अनुमती लिनुपर्ने प्रावदान छ । तर सिरहाको गोलबजार नगरपालिका–११ स्थित श्री माध्यमिक विद्यालय बल्कावामा यिनै कानुनी व्यवस्था उलंघन गर्दै बिना स्वीकृति बिद्यालयको परिसर विहिवार बिद्यालय संचालनकै बेला प्रयोग गरेका छ्न ।

हेल्पिङ हर्ट नेपाल र अन्तर्राष्ट्रिय मानवीय सहायता संगठन नेदरल्याण्ड( Internationale Humanitaire Hulporganisatie Nederland) नामका संस्थाले कुनै पनि कागजी स्वीकृति नलिई विद्यालय परिसरमा कार्यक्रम सञ्चालन गरेपछि पढाइ नै अवरुद्ध भएको स्थानीयवासी बताउँछन्।कक्षा सञ्चालन भइरहेको बेला विद्यालयैभित्र बाह्य कार्यक्रम चलेपछि केहीबेरका लागि सारा शैक्षिक गतिविधि रोकिएको अभिभावक तथा स्थानीयले आरोप लगाएका छन्।

विद्यालय व्यवस्थापन समितिका सदस्य बिजय यादव भन्छन्,हामीलाई कार्यक्रमबारे कुनै जानकारी छैन। व्यवस्थापन समितिको बैठकमा पनि निर्णय भएन। कस्को अधिकारमा कार्यक्रम चलाइयो ? यस्तो मनपरीले विद्यार्थीको पढाइ बिग्रन्छ।अनुगमन समितिका सदस्य पुनित कुमार यादवले विद्यालय परिसर महिनौंदेखि निर्माण सामग्रीले भरिएको बताउँदै भने,एक महिनादेखि काठ ल्याएर कठघराहरू बनाइरहेका छन्। विद्यार्थीको ध्यान पढाइमा कसरी जाओस् ? यो त सीधै पठन–पाठनमा हस्तक्षेप हो।अर्का स्थानीय बिजय भूषण यादव थप्छन,विद्यालय अध्यक्ष जियाउद्दिन खानले कहिले कन्सर्ट, कहिले अन्य कार्यक्रम गर्छन्। विद्यार्थीको भविष्यसँग खेलवाड़ भइरहेको छ।

विद्यालयका प्रधानाध्यापक बेचन प्रसाद साहले विद्यालयले कुनै अनुमोदन नदिएको स्वीकार गरेका छन्।अध्यक्ष नै कार्यक्रम सञ्चालक संस्थाका अध्यक्ष भएकाले मसँग अनुमति लिने नै भएन। कुनै लिखित निर्णय नभएको उनले स्पष्ट गरे।

यसले विद्यालय प्रशासनलाई अध्यक्षको निजी निर्णयले चलाइरहेको गम्भीर आरोपलाई बल मिलेको स्थानीय बताउँछन्।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र हेल्पिङ हर्ट नेपालका अध्यक्ष जियाउद्दिन खानले भने कार्यक्रम अनुमति लिएरै गरेको दाबी गरे। तर पत्रकारले स्वीकृतिको कागज देखाउन आग्रह गर्दा उनले पछि देखाइदिन्छु भन्दै पन्छिए ।

उनकै शंकास्पद दाविलाई प्रष्ट बुझन हामी नगरपालिका पुग्यौ।नगरपालिकाले पनि भन्यो,‘आज कुनै अनुमति छैन’गोलबजार नगरपालिकाका निमित्त प्रमुख योगेन्द्र कुमार सिंहले भने,आजका लागि कुनै अनुमति लिएको छैन। विगतको दिनबारे आफुलाइ थाह छैन, तर अहिलेको कार्यक्रमबारे नगरपालिकालाई जानकारी छैन।

घटनास्थलमा पुगेका हिमालयकर्मीको टोलिले क्यामेरा निकाल्नेबित्तिकै प्रधानाध्यापकले कार्यक्रमस्थलबाट उठेर विद्यार्थीहरूलाई कक्षामा पठाउन थालेको दृश्यले विद्यालयमा कति हदसम्म अव्यवस्था र अनियमितता छ भन्ने झल्काएको छ।

विद्यालय परिसरमा बिना स्वीकृति कार्यक्रम सञ्चालन गर्नु कानुन उल्लङ्घन मात्र होइन, विद्यालयको मर्यादा, अनुशासन र विद्यार्थीको शैक्षिक हकमाथिको अतिक्रमण हो।
अब जिम्मेवार निकाय—नगरपालिका, शिक्षा शाखा र अन्य नियामक संस्थाले व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालय प्रशासनमाथि कारबाही गर्छन् कि गर्दैनन् ?
यो प्रश्न अहिले स्थानीय समुदायका बीच चर्को बहसको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!