काठमाडौँ । अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरीलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेसँगै मेटाले आफ्ना प्लेटफर्म इन्स्टाग्राम, फेसबुक र थ्रेड्समा रहेका किशोर प्रयोगकर्ताका अकाउन्ट बन्द गर्ने सूचना पठाउन थालेको छ । विश्वकै ठुलो सामाजिक सञ्जाल कम्पनी मेटाले १३ देखि १५ वर्ष उमेर समूहका प्रयोगकर्तालाई टेक्स्ट मेसेज, इमेल र एपभित्रै नोटिफिकेसन पठाएर ४ डिसेम्बरदेखि अकाउन्ट निष्क्रिय गर्न सुरु गरिने जानकारी दिएको हो ।
अस्ट्रेलियामा यो प्रतिबन्ध १० डिसेम्बरदेखि पूर्ण रूपमा लागु हुनेछ । यो नियम मेटाका प्लेटफर्मका साथै टिकटक, युट्युब, एक्स र रेडिट जस्ता अन्य सामाजिक सञ्जालहरूमा पनि लागु हुनेछ । तर, त्यसअघि नै मेटाले किशोर-किशोरीको अकाउन्ट बन्द गर्न थालेको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो प्रतिबन्धलाई ‘विश्वकै लागि उदाहरणीय’ भन्दै यसको उद्देश्य ‘बच्चाहरूलाई बच्चा नै रहन दिनु’ रहेको बताएका छन् । मेटा र अन्य प्रविधि कम्पनीले यस कदमको विरोध गरे पनि कानुनको पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
अस्ट्रेलियाको इन्टरनेट नियामकको अनुमान अनुसार फेसबुकमा करिब डेढ लाख र इन्स्टाग्राममा साढे तीन लाख किशोर-किशोरी १३ देखि १५ वर्ष उमेर समूहका छन् ।
यससँगै ४ डिसेम्बरदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाले मेटाका सामाजिक सञ्जाल प्लेटफर्ममा नयाँ अकाउन्ट खोल्न पनि पाउने छैनन् । कम्पनीले युवा प्रयोगकर्तालाई आफ्नो सम्पर्क विवरण अपडेट गर्न आग्रह गरेको छ । यसो गर्दा ती प्रयोगकर्ता योग्य भए भने पुनः आफ्ना सामाजिक सञ्जालका अकाउन्ट प्रयोग गर्न सक्छन् ।
अकाउन्ट बन्द हुनुअघि प्रयोगकर्तालाई आफ्ना पोस्ट, भिडिओ र मेसेज डाउनलोड गरेर सुरक्षित राख्ने सुविधा दिइएको छ । यदि कुनै किशोर-किशोरीले आफ्नो उमेर १६ वर्षभन्दा बढी भएको दाबी गरेमा उनीहरूले ‘भिडिओ सेल्फी’ मार्फत अनुहार स्क्यान गराएर वा ड्राइभिङ लाइसेन्स जस्ता सरकारी परिचयपत्र पेस गरेर उमेर प्रमाणीकरण गर्न सक्छन् । यद्यपि विज्ञहरूले कुनै पनि एउटा प्रमाणीकरण विधि पूर्ण रूपमा प्रभावकारी नभएको बताउँदै आएका छन् ।
नियम पालना नगर्ने र १६ वर्ष मुनिका प्रयोगकर्तालाई रोक्न ‘उचित कदम’ नचाल्ने सामाजिक सञ्जाल कम्पनीलाई पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना हुन सक्नेछ ।
मेटाकी सुरक्षा प्रमुख एन्टिगोन डेभिसले रोयटर्सलाई भनिन्, “हामी १० डिसेम्बरसम्ममा १६ वर्ष मुनिका सबै प्रयोगकर्तालाई हटाउने प्रयास गरिरहेका छौँ । तर कानुनको पालना एक निरन्तर र बहु-स्तरीय प्रक्रिया हुनेछ ।”
मेटाले यो प्रतिबन्धको सट्टा सामाजिक सञ्जाल एप डाउनलोड गर्नुअघि अभिभावकको स्वीकृति लिनुपर्ने कानुन बनाउनुपर्नेमा जोड दिएको छ । अस्ट्रेलियाकी ई-सेफ्टी कमिस्नर जुली इनम्यान ग्रान्टका अनुसार यो प्रतिबन्ध किशोर-किशोरीलाई ‘सामाजिक सञ्जालमा रहँदा भोग्नुपर्ने दबाब र जोखिमहरूबाट जोगाउन’ ल्याइएको हो ।
कुन-कुन प्लेटफर्ममा प्रतिबन्ध लाग्छ ?
-
फेसबुक
-
इन्स्टाग्राम
-
थ्रेड्स
-
टिकटक
-
युट्युब
-
एक्स
-
रेडिट
-
स्न्यापच्याट
-
किक
प्रतिबन्ध नलाग्ने प्लेटफर्म:
-
डिस्कर्ड
-
मेसेन्जर
-
ह्वाट्सएप
-
युट्युब किड्स
-
रोब्लक्स
-
गुगल क्लासरूम
-
गिटहब



