काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । आज काठमाडौंबाट सिमरातर्फ एमालेका नेताहरुलाई जान रोकेको घटनातर्फ इंगित गर्दै शर्माले बुधबार निषेधको राजनीति नगर्न आग्रह गरेका हुन् ।उनले प्रधानमन्त्री सुशिला कार्कीलाई मेन्सन गर्दै भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ भन्दै प्रश्न गरे।
नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न भन्दै सम्राट उपाध्यायसहितको नेतृत्वमा २०/२५ जनाले प्रदर्शन र तोडफोड गरेका थिए।

बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा जागरण अभियानका लागि काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत पोखरेल र बस्नेत जान लागेको थाहा पाएपछि जेनजीका नाममाबाहिर विरोध प्रदर्शन भएपछि एमाले कार्यकर्ताहरू पनि प्रतिरोधमा उत्रिएका थिए। जेनजीका नाममा युवाहरुले विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका छन्।
स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ। सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ।



