सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–१ बल्टियाँस्थित ऐतिहासिक तथा धार्मिक स्थल उतराहिणी कमला नदीमा बाला चतुर्दशीको अवसरमा रातभर जाग्राम बस्ने भक्तजनहरूको भीड लागेको छ।
हिन्दू धर्मावलम्बीहरूले मङ्सिर कृष्ण त्रयोदशीका दिन दिवङ्गत आत्माको नाममा दीप प्रज्वलन गरी जाग्राम बसेर भोलिपल्ट बिहान शतबीज (सप्तबीज) छर्ने परम्परा अनुसार श्रद्धापूर्वक पूजाअर्चना गरिरहेका छन्। बाला चतुर्दशी व्रतलाई पितृहरूका लागि बलिदान, पुण्य र मुक्तिको प्रतीकका रूपमा मानिन्छ।
भक्तजनहरूले रातभर भजन–कीर्तन गर्दै दीप प्रज्वलन गरेपछि बुधबार बिहान शतबीज छर्ने चलन रहेको स्थानीयहरू बताउँछन्। शतबीजमा सामान्यतः धान, गहुँ, मास, मुँगी, कागुन र सामाका बीउसहित सात अन्न प्रयोग गरिन्छ। तर कतिपय स्थानमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केला, तिल, चना र मकैसमेत चढाउने परम्परा पनि रहेको छ।

मान्यताअनुसार दुर्घटना वा अकालमा मृत्यु भएकाहरूका आत्माले स्वर्गारोहण गर्न सहज होस् र पितृदोषबाट मुक्ति मिलोस् भन्ने विश्वासका साथ शतबीज छर्ने गरिन्छ। भक्तजनहरू बिहानै स्नान गरी चोखो मनले शिवालय नजिकका वन–जंगलमा शतबीज छर्न जाने गर्छन्।
उतराहिणी कमला नदीसँगै देशका विभिन्न धार्मिक स्थानहरू—किराँतेश्वर महादेव, गौरीघाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन (काठमाडौं), चतरा, बराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतमा समेत आज पितृ तर्पण र शतबीज छर्ने दर्शनार्थीहरूको भीड देखिएको छ।



