काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै एक महिनादेखि निरन्तर चलिरहेको छ ।

तर, कुनै ठोस निर्णय नहुँदा बैठक ‘अनिर्णयको बन्दी’ बनेको छ ।सामान्यतः कांग्रेसको केन्द्रीय समिति बैठक एक साताभित्रै सकिने चलन भए पनि यसपालि जानाजानी तन्काइएको आरोप छ ।भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि नेतृत्व र नीतिगत परिवर्तनको माग बढेका बेला बैठक लम्ब्याएर निष्प्रभावी बनाउन खोजिएको भनाइ छ ।

सभापति शेरबहादुर देउवाले असोज २८ गते कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए पनि बैठक देउवाको पर्खाइमै स्थगित–निरन्तर हुँदै आएको छ ।

विधानअनुसार देउवाको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ ।

महामन्त्री गगन थापाले पुस १६–१९ मा १५ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा गर्ने धारणा राखेपछि बैठक विभाजित बनेको छ ।

सहमति जुटाउने नाममा बैठक पटक–पटक रोकिन थालेपछि नेताहरू नै असन्तुष्ट छन् ।

नेता महेश आचार्यका अनुसार नयाँ पुस्ताको आन्दोलनपछि पनि कांग्रेस नेतृत्वमा आत्मसमीक्षा र निर्णायकता नदेखिनु चिन्ताजनक हो ।

नेता भूपेन्द्रजंग शाहीले ‘एक सातामा सकिने बैठक एक महिनासम्म तन्किएको’ भन्दै आलोचना गरेका छन् ।

देउवा दम्पती सिंगापुरमा उपचाररत हुँदा केन्द्रीय समिति बैठक निष्क्रिय बनेको र देउवा फर्केपछि मात्रै निर्णय हुने आशा गरिएको छ ।

देउवाले कार्यकाल थप गरेर मात्रै महाधिवेशन गर्न खोजेको आरोप पनि छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन् भने शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने मत राखेका छन् ।

क्रियाशील सदस्यता नटुंग्याई महाधिवेशन रोकिएको भन्दै केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले नेताहरूले नै प्रक्रिया रोकिरहेका आरोप लगाएका छन् ।

यसरी, नियमित महाधिवेशन कि विशेष, प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचन, यी मुख्य विषयमा निर्णय नहुँदा कांग्रेस नेतृत्व अझै दोधारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय