मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले आइतबार राति नै नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको खुलेको छ । राति १० बजे नेपाली कांग्रेससहित विभिन्न सात दलले प्रदेश प्रमुख भण्डारीलाई नयाँ सरकार गठनको विषयमा लिखित रूपमै ध्यानकर्षणपत्र बुझाएको केही समयमै प्रदेश प्रमुख भण्डारीले एमालेका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको खुलेको हो ।
यसको खुलासा एमालेको संसदीय दलका नेता तथा नवनियुक्त मुख्यमन्त्री सरोज यादव आफैँले गरेका छन् । मुख्यमन्त्री यादवले भने, ‘हिजो राति ११ बजे नै प्रदेश प्रमुखले मलाई निवासमा बोलाएर मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र दिनुभयो । राति नै शपथग्रहण गर्ने कार्यक्रम थियो । तर, प्रदेश प्रमुख कार्यालयअगाडि विपक्ष दलहरूका कार्यकर्ताले विरोध गरिरहेकाले अनावश्यक विवाद हुने भनेर शपथ लिइनँ । पछि माहौल बनेपछि लिन्छु भनेर प्रदेश प्रमुखको निवासबाट निस्केँ ।’

मुख्यमन्त्री नियुक्त भएको केही समयपछि प्रदेश प्रमुखले आफ्नो स्वास्थ्य ठीक नरहेको र उपचारका लागि काठमाडौं जान लागेको भनेर यादवलाई फोन गरेकी थिइन् । मुख्यमन्त्री यादवका अनुसार प्रदेश प्रमुख शपथ नै नगराई काठमाडौं जाने तयारीमा थिइन् । तर, आफूलाई शथपग्रहण नै गरेको खण्डमा प्रदेशमा राजनीतिक अन्याैलको अवस्था आउन सक्ने भएकाले शपथ गराएरै जान आग्रह गरेका थिए । त्यसपछि प्रदेश प्रमुख भण्डारी काठमाडौंको बाटोमा पर्ने बर्दिवासको पानस होटलमा शपथ गराउन पुगेको मुख्यमन्त्री यादवले बताए ।
काठमाडौं जानुअघि प्रदेश प्रमुख भण्डारीले निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनललाई पनि फोन गरेकी थिइन् । सोनलका अनुसार प्रदेश प्रमुख भण्डारीले आफ्नो स्वास्थ्य अवस्था ठीक नरहेको भन्दै उपचारका लागि काठमाडौं जान दिन आग्रह गरेकी थिइन् । त्यसपछि प्रदेश प्रमुख कार्यालयलाई घेराउ गरी बसेका आफ्ना समर्थकहरूलाई बाहिर निकालेर सोनलले प्रदेश प्रमुख भण्डारीलाई फूलमाला लगाई बिदाइ गरेका थिए । निवासबाट बिदाइ भएको करिब आधा घण्टापछि एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथग्रहण गराएको खबर सार्वजनिक भएको थियो ।
यो घटनापछि मधेश अशान्त बनेको छ । एमालेबाहेकका दलहरू विरोधमा उत्रिएका छन् भने नेताहरू तोडफोडमा उत्रिएका छन् । एमालेले प्रदेश प्रमुखलाई दबाब दिई संवैधानिक व्यवस्थाविपरीत निर्णय गराएको भन्दै आलोचना भइरहेको छ ।



