काठमाडौं । नेकपा एमालेले यही कात्तिक २५ गते पालिकास्तरमा जनप्रदर्शन गर्ने भएको छ । महासचिव शंकर पोखरेलका अनुसार पालिकास्तरमा हुने प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले मंगलबार जनप्रदर्शन गर्न लागेको हो । उनले पालिकास्तरमा जनप्रदर्शनका लागि तयारी गर्न सामाजिक सञ्जालमार्फत पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
उनले झन्डा, ब्यानर र प्लेकार्ड तयार गर्न, ह्यान्ड माइक वा हल्का खालको साउन्डको व्यवस्था गर्न, जनप्रदर्शनका लागि घनाबस्ती भएको बजार क्षेत्र चयन गर्न, जनप्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोणसभा गर्न र जनप्रदर्शनका भिडिओ÷फोटो सामाजिक सञ्जालमा सेयर गर्न तथा सञ्चारमाध्यममा पठाउन निर्देशन दिएका छन् ।

साथै जनप्रदर्शनमा प्रतिगामी षड्यन्त्र मुर्दावाद, विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर, २३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर, तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर, हत्या, हिंसा, आतंक बन्द गर, नेकपा एमाले जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतका नारा प्रयोग गर्न उनले कार्यकर्तालाई आह्वान गरेका छन् ।



