काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो पक्षमार्फत मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको आयको सुनिश्चितता परीक्षण गर्ने भएको छ । यसअघि छिटपुट रूपमा सेवा प्रदायकहरूको वित्तीय विवरण केलाए पनि यस पटक भने तेस्रो पक्ष नियुक्त गरेर गम्भीर ढङ्गले परीक्षण गर्ने योजना प्राधिकरणले बनाएको छ ।
सेवा प्रदायकहरूले सुरुदेखि अन्तिमसम्म गर्ने आम्दानीको परीक्षण यो अडिटबाट हुनेछ । दूरसञ्चार क्षेत्र सरकारका लागि राजस्वको सबैभन्दा ठुलो स्रोतको रूपमा रहेको भए पनि पछिल्ला वर्षहरूमा आम्दानी निरन्तर ओरालो लागेर कम्पनीहरू नै सङ्कटमा पर्ने देखिएपछि प्राधिकरणले अडिट गराउन लागेको हो ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले तेस्रो पक्षमार्फत टेलिकम कम्पनी र इन्टरनेट सेवा प्रदायकहरूको आयको विषयमा अध्ययन गर्न लागिएको जानकारी दिए । विज्ञसहितको टोलीले सञ्चालनमा रहेका टेलिकम सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरूको अडिट गर्न लागेको उनले बताए ।
“पहिला स-साना स्केलमा यस्ता काम हुने गरेका थिए । यस पटक भने विज्ञ टिमबाटै रेभिन्यु अस्योरेन्स अडिट गर्न लागेका हौँ । कार्यादेश (टीओआर)मा अडिटको स्कोप, मोडालिटी लगायतका विषय समेटिएपछि काम कसरी अघि बढ्छ भन्ने थाहा हुनेछ,” उनले भने ।
“सेवा प्रदायकहरूले कसरी आम्दानी गरिरहेका छन्, गरेको आम्दानी कसरी खर्च गरिरहेका छन् भन्नेमा अडिट केन्द्रित हुनेछ । यसबाट हामीलाई आम्दानी र खर्चको प्याटर्न थाहा हुन्छ,” अर्यालले टेकपानासँग भने ।
अडिटलाई दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूको सुरुदेखि अन्त्यसम्मको आम्दानी प्रक्रियाको व्यवस्थित परीक्षण मानिन्छ । यसको उद्देश्य सेवा प्रदायकहरूले प्रदान गरेका सेवाको बिलिङ सही ढङ्गले भए नभएको र सङ्कलन गरिएको आय तथा खर्चिएको विवरण लेखा प्रणालीमा समावेश गरिएको सुनिश्चित गर्नु हो । यसले आम्दानी वा नाफा चुहावट रोक्न समेत मद्दत गर्ने प्राधिकरणको अपेक्षा छ ।
अडिटले प्रणालीका कमजोरी, प्रक्रियागत त्रुटि र गुमिरहेको आम्दानीलाई फिर्ता ल्याउन सक्ने सम्भावना रहन्छ । जसले गर्दा सेवा प्रदायकहरूले अधिकतम नाफा सुनिश्चित गर्न र नियामकीय अनुपालन कायम राख्न सक्छन् ।
मोबाइल (भ्वाइस) सेवा प्रदायकहरूको आय निरन्तर घट्दा व्यवसायमा चुनौतीहरू बढ्दै गएको प्राधिकरणको विश्लेषण छ । चुनौती बढ्दै गएर व्यवसाय बन्द नै हुने सम्भावना देखिएको भन्दै सेवा प्रदायकहरूको आयको स्तर कायम गर्दै आम्दानी वृद्धि गर्ने नियामकीय उपकरण प्रयोगमा ल्याउने तयारीमा प्राधिकरण छ ।
दूरसञ्चार प्राधिकरणकै रेकर्ड हेर्दा आर्थिक वर्ष २०७६/७७ मा दूरसञ्चार सेवा प्रदायकहरूको वार्षिक कूल आय ८१ अर्ब २० करोड रुपैयाँ थियो । पाँच वर्षको अन्तरालमा आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा वार्षिक आम्दानी १६ प्रतिशतले घटेर ६८ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । यो अवधिमा टेलिकम कम्पनीहरूको आय १३ अर्ब रुपैयाँले घटिसकेको छ ।
तर, इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकहरूको आय भने निरन्तर वृद्धि हुँदै गइरहेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा इन्टरनेट/नेटवर्क सेवा प्रदायकहरूले कूल ११ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेका थिए । आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा सो आम्दानी ९३ प्रतिशतले ह्वात्तै बढेर २१ अर्ब ९४ करोड रुपैयाँ पुगेको प्राधिकरणको तथ्याङ्क छ ।
ओभर द टप (ओटीटी) एपहरू मेसेन्जर, ह्वाट्सएप, भाइबरलगायतका फोनिङ तथा मेसेजिङ प्लेटफर्महरूको विस्तारका कारण भ्वाइस सेवा प्रदायकहरूको आम्दानी निरन्तर घटिरहेको उनीहरूकै वित्तीय प्रतिवेदनमा उल्लेख छ । यसका साथै टेलिकम कम्पनीहरूले गर्ने कूल आयको करिब ६० प्रतिशत करका विभिन्न शीर्षकमा जाने गरेको भन्दै त्यसमा पनि सुधार हुनुपर्ने माग अपरेटरहरूले उठाउँदै आएका छन् ।



