जनकपुरधाम । भारतको बिहार राज्यमा भइरहेको पहिलो चरणको विधानसभा निर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमामा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ ।
बिहार विधानसभाको पहिलो चरणको निर्वाचनलाई दृष्टिगत गर्दै बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि जटही नाका बन्द गरिएको हो ।

निर्वाचन अवधिभर सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले सीमा बन्द गरिएको भारतीय प्रशासनले जनाएको छ । यस क्रममा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथ गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार निर्वाचन अवधिमा अवाञ्छित गतिविधि हुन नदिन चेकजाँच र निगरानी बढाइएको छ । उनले भने, ‘शंका लागेका व्यक्तिहरूमाथि सोधपुछ भइरहेको छ र सीमा क्षेत्रमा सघन अनुगमन जारी छ ।’
नाका बन्द रहँदा दुवै तर्फका सवारीसाधन र यात्रुहरूको आवागमन पूर्ण रूपमा रोकिएको जनाइएको छ ।भारतको बिहारमा पहिलो चरणअन्तर्गत आज १२१ विधानसभा सिटमा मतदान भइरहेको छ भने दोस्रो चरणको निर्वाचन नोभेम्बर ११ मा १२२ सिटका लागि हुने तय भएको छ ।



