सिरहा । कार्तिक पूर्णिमाको पावन अवसरमा धनुषा र सिरहा जिल्लाको सीमामा पर्ने कमला नदीमा ‘कुलदेवता स्नान मेला’ भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि मंगलबार साँझदेखि सुरु भएको यो धार्मिक मेला बुधबार बिहान सूर्योदयसँगै पूजा–पाठ र पवित्र स्नानसँगै सम्पन्न गरिएको हो।
मंगलबार साँझदेखि धामी–झाँक्री, भगता र सर्वसाधारण भक्तजनहरू घरको कुलदेवता खेलाउँदै कमला नदीको किनारमा भेला भएका थिए। उनीहरूले रातभर भूत–बैताल र देव–देवीको गुहान (साधना) गर्दै तान्त्रिक कर्म पूरा गरे। बुधबार बिहानै नदीमा स्नान, पूजा–पाठ गरी दही–च्यूरा खाएर घर फर्किएका छन्।
कमला नदीलाई गंगाको स्वरूप मान्ने जनविश्वासका कारण यस दिन हजारौँ भक्तजन यहाँ स्नान गर्न आउने गर्दछन्। स्थानीय धामी गुरु मोहन महतोका अनुसार, “कात्तिक शुक्ल पूर्णिमाको दिन भूत–बैताल र देव–देवीहरूको साधना गरी आत्मशुद्धि गर्न सकिन्छ। यस दिन नयाँ धामी–झाँक्री बन्ने शुभ अवसर पनि हो।”
कमला नदीका उतराहिणी, सिमरा, चिकना, भोक्सा, सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया र इनर्वा घाटमा भक्तजनहरूको ठूलो भीड लागेको थियो। महोत्तरी, धनुषा, सिराहा, सर्लाही, सप्तरी लगायतका जिल्लासँगै भारतका सीमावर्ती गाउँहरूबाट पनि धामी–झाँक्रीहरू ढोल, घण्टी, लाठी र घुँघरू बजाउँदै नदीतर्फ आएका थिए।
पहेँलो धोती र सारीमा सजिएका नवधामी–झाँक्रीहरूले हातमा बेतको छडी घुमाउँदै मन्त्र जप गर्दै कमला घाट पुगेका थिए। बिहान सूर्योदयसँगै पवित्र स्नान गरी शक्ति प्राप्तिको अनुष्ठान सम्पन्न गरिएको थियो। स्नानपछि भक्तजनहरूले कमला नदीको शुद्ध जल घर लैजाने र त्यसलाई पूजामा शुद्धताको प्रतीकका रूपमा प्रयोग गर्ने परम्परा रहेको छ।


स्थानीयहरूका अनुसार, विजया दशमीदेखि सक्रिय भएका धामी–झाँक्रीहरूले कालीपूजासम्म साधना पूरा गरी कात्तिक पूर्णिमामा देवतालाई स्थायी बासको निम्तो दिने प्रथा रहँदै आएको छ। यसरी मनाइने कमला नदी मेला धार्मिक आस्था, तान्त्रिक परम्परा र मिथिला क्षेत्रको सांस्कृतिक पहिचानको अद्भुत संगमका रूपमा स्थापित भएको छ।



