काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा सम्पन्न त्रिपक्षीय संवादको समापनमा भावुक तर दृढ अभिव्यक्ति दिँदै परिवर्तन र न्यायका लागि कठोर कदम चाल्ने प्रतिज्ञा गरेकी छिन् ।
सरकार, राजनीतिक दल र ‘जेनजी’ युवाबीचको संवादमा उनले आफू रहरले होइन, देश र युवाहरूको बलिदानको सम्मानका लागि प्रधानमन्त्री बनेको बताइन् ।

‘मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेको दृश्य सम्झिएँ, घाइतेहरूको अनुहार हेरेँ,’ उनले भनिन् ।
कार्कीले सहिद परिवार र घाइतेहरूलाई नछोड्ने, बोलेको कुरा पूरा गर्ने र आगामी निर्वाचन तयारीमा सरकार जुटेको बताइन् ।
प्रहरीको मनोबल पुनःस्थापनामा जोड दिँदै उनले ३५ वर्षसम्म मनोबल खसाल्नेहरूले आज त्यसकै कुरा गर्छन् भन्दै व्यङ्ग्य गरिन् ।
विदेशी हस्तक्षेपका आरोप खारेज गर्दै उनले राजदूतहरूसँग शिष्टाचार भेट मात्र भएको हो भनी स्पष्ट पारिन् ।
संविधानले न्यायाधीशलाई राजनीतिक पदमा रोक नलगाएको बताउँदै उनले आफ्नो भूमिकामा कुनै असंवैधानिकता नभएको तर्क गरिन् ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने चेतावनी दिँदै उनले भनिन्, ‘यदि भ्रष्टाचार गरेको भेटिए, मेरै स्वर्गीय बुवालाई पनि जेल पठाउन तयार छु ।’
उनले मन्त्री अनिलकुमार सिन्हाको इमान्दारिताको प्रशंसा गर्दै थन्क्याइएका फाइलहरू खोल्ने र दोषीलाई कारबाही गर्ने प्रक्रिया तीव्र रूपमा अगाडि बढेको जानकारी दिइन् ।



