काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिका – ३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन।
पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटक पटक आक्रमण भइरहेपनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो छ। उनीहरुको कुटपिटपछि प्रहरी चौकी भवानीपुर पुगेकामा त्यहाँ प्रहरीले उजुरी नै लिन नमानेको पीडितले बताए।

भवानीपुर चौकीले सहयोग नगरेपछि उनीहरू इलाका प्रहरी कार्यालय बरहथवा पुगेका थिए। तर त्यहाँ पनि उजुरी नलिएको बताइएको छ। कुटपिटबाट घाइते भएकाहरूको अहिले गोल्डेन हस्पिटल बरहथवामा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार जग्गाको विषयमा विवादमा कुटपिट गरेको बुझिएको छ। प्रहरीले दुवै पक्षका गरि ९ जना घाइते भएको जनाएको छ। घटनामा संग्लग्न रहेका ५५ बर्षिय राम दरेशलाई पक्राउ गरेको जनाएको छ।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषमाथि कानुनी कारवाहीको माग गरेका छन्। घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



