काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफू देश छोड्न तयार रहेको बताएका हुन् ।
‘म कसैबाट चलेको मान्छे होइन । म नेपालबाट नेपाली जोगाउन मैले आफ्नो क्षमताले भ्याएसम्म मैले पहिले पनि गरिरहेको थिएँ । मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु । तपाईंहरूले यो देश छोडेर जा भन्नु हुन्छ भने पनि म जान्छु । यो देश कसैले बनाउँछ भने म जान तयार छु । तर नेपाल बचाइदियोस्, विदेशबाट नेपालीलाई फर्काइदियोस् । फर्कने वातावरण बनोस्,’ उनले भने ।

त्यस्तै उनले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै जानेर वा नजानेर जे जे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।
‘ल हिजो जे भयो-भयो, आफैंले बाटो बिर्सियौंँ । सबैले भुल्यौँ । अब त कमसेकम देश जोगाउँ, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔँ,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ,’ उनले भने ।



