सिरहा । खाडी मुलुक कतारमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) ले स्थानीय एक स्वास्थ्य संस्थासंग सहकार्य गरि स्तन क्यान्सर सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ ।
एनआरएनए कतारले दोहामा रहेको नसिम मेडिकल सेन्टरसंग सहकार्य गरि स्तन क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले बताए । कतारमा रहेका नेपाली समुदायमा स्तन क्यान्सरको समयमा पहिचान, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे कार्यक्रममा जानकारी प्रदान गरिएको अध्यक्ष पन्थीले बताए ।

सचेतनामूलक कार्यक्रममा डा नुरुलिसा पलाथुरले स्तन क्यान्सरको पहिचान गरि समयमै उपचार गर्नुपर्ने सम्बन्धमा जानकारी दिएकी थिईन् । प्रारम्भिक लक्षण पहिचान, स्क्रीनिङको आवश्यकता तथा समयमै उपचारको महत्त्वबारे डा पलाथुरले सहभागी नेपाली समुदायलाई जानकारी दिएको कार्यक्रम संयोजक एनआरएनए एनसीसी कतारको महिला उपाध्यक्ष तौमाया गुरुङले बताइन । सो सचेतनामूलक कार्यक्रममा नेपाली समुदायका सयौको सहभागी रहेको थियो ।
स्वास्थ्य उपचारमा छुट १० देखि ३० प्रतिशतसम्म छुट
यस्तै एनआरएनए कतारले नेपाली समुदायको स्वास्थ्य जाँचहरुमा छुट हुने गरि समझदारी गरेको छ । सचेतना कार्यक्रमसंगै एनआरएनए एनसीसी कतार अध्यक्ष कृष्ण पन्थी र नसिम मेडिकल सेन्टरका सहायक प्रबन्धक असरफले नेपाली स्मुदायलाई आवश्यक पर्ने स्वास्थ्य जाँचमा छुट प्रदान गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर गरेको हो । कतारस्थित कुनै निजी स्वास्थ्य संस्थासँग भएको पहिलो सम्झौता भएको स्थानीय नेपाली व्यवसायी यास्मिन नाजले बताईन । नेपाली समुदायको हितमा एक महत्वपूर्ण समझदारी भएको कार्यक्रमको सहजीकरण समेत गरेकी व्यवसायी नाजले बताएकी छिन् ।
विशेषज्ञ सेवामा ३० प्रतिशत, सिटि स्क्यान, एमआरआईमा १५ प्रतिशत, प्याथोलोजी जाँच, एक्सरे, अल्ट्रासाउन्डमा ३० प्रतिशत, डेन्टल, डर्माटोलोजीमा १५ प्रतिशत र कस्मेटिक टेन्टल, कस्मेटिक डर्माटोलोजी लगायतमा १० प्रतिशत छुटको सहमति गरिएको छ ।



