सिरहा । नेपाल रेडक्रस सोसाइटी नेपाल उप-शाखा, नवराजपुरको आयोजनामा र मातृभूमि युवा समाज नेपालको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ। ११२ भन्दा बढीले गराए स्वास्थ्य जाँच, सभापति नवीन यादवको नेतृत्वमा सफल जनसेवा अभियान।
उक्त शिविर नवराजपुर गाउँपालिका–स्थित जगतपुरमा सम्पन्न भएको हो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा उल्लेखनीय प्रभाव पारेको छ।

रेडक्रस सोसाइटी नवराजपुरका सभापति नवीन यादवको नेतृत्वमा सम्पन्न स्वास्थ्य शिविरमा ११२ जना भन्दा बढी स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा सहभागीहरूलाई निःशुल्क औषधि वितरणसँगै विभिन्न रोगहरूको प्राथमिक उपचार र स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

सभापति नवीन यादवले भने, “रेडक्रस केवल आपतकालीन सेवा दिने संस्था होइन, यो समुदायमा चेतना, सेवा र मानवीय सहयोग फैलाउने संस्था हो। हाम्रो उद्देश्य गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्याउँदै समाजमा सशक्त र स्वस्थ समुदाय निर्माण गर्नु हो।”
उनका अनुसार यस प्रकारका शिविरहरूले ग्रामीण क्षेत्रमा उपचारका अवसर नपाएका सर्वसाधारणलाई राहत मिल्ने र स्वास्थ्य चेतना अभिवृद्धि हुने विश्वास लिइएको छ। यादवले रेडक्रस नवराजपुर शाखा आगामी महिनामा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
शिविरमा डा. ओम साह, डा. अभिनाश पूर्व, मनिष यादव, नविन साह, राहुल गुप्ता, अमित मुखिया, सन्तोष यादव, र उमेश यादव लगायत स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको उल्लेखनीय योगदान रहेको थियो।
कार्यक्रममा मातृभूमि युवा समाज नेपालका प्रतिनिधिहरूले पनि सहकार्यका साथ सहभागी हुँदै स्थानीय स्तरमा जनसेवा र स्वास्थ्य सचेतना अभिवृद्धि गर्न निरन्तर काम गर्ने प्रतिवद्धता जनाए।
स्थानीय बासिन्दाहरूले रेडक्रस सोसाइटी र सभापति नवीन यादवप्रति आभार व्यक्त गर्दै यस्तो स्वास्थ्यमूलक पहलले गाउँमा वास्तविक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। मातृभूमि युवा समाज नेपाल सहीयोगको लाई सभापति नवीन यादवप्रति आभार व्यक्त गर्दै।



