काठमाडौँ । पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध सरकारी वकिलले अदालतमा अभियोगपत्र पेस गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारेको अभियोगपत्र जिल्ला अदालत काठमाडौँमा पेस गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी शर्मा काफ्लेले बताए ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।
सो प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुन: मुद्दा चलाउन सिफारिस गरेको थियो ।
भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महरालाई पनि अदालतमा उपस्थित गराएको छ ।
महराले यसअघिको बयानमा चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्विकारेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका थिए–‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’
चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि कृष्ण बहादुर महरा र उनको पुत्र राहुलले छुटाउन भूमिका खेलेका हुन् । राहुल यसअघि पक्राउ परेका थिए ।



