काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासबाट जेनजी आन्दोलनअघि दुई करोड रुपैयाँ ओसारिएको भन्ने चर्चालाई उनको सचिवालयले खण्डन गरेको छ ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले यस्तो दाबीको प्रमाण पेस गर्न चुनौती दिएका हुन् । केही दिनअघि नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदीले एक अन्तरवार्तामा प्रचण्डको घरबाट आन्दोलनको दुई दिनअघि दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको दाबी गरेका थिए ।

उनले गरेको दाबी सामाजिक सञ्जालमा भाइरल भएको छ । तर, सचिवालयले यसलाई ‘तथ्यहीन, नियोजित र चरित्रहत्या गर्ने’ भन्दै खण्डन गरेको छ । आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संवेदनशील समयमा पार्टी नेतृत्वविरुद्ध यस्ता आधारहीन र चरित्रहत्या गर्ने सामग्रीहरू नियोजित रूपमा फैलाइएकोमा हामी खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्छौं ।’
विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारहरूलाई संविधान, कानून र पत्रकारीय आचारसंहिताप्रति जवाफदेही भई तथ्य र स्रोतको विश्वसनीयता सुनिश्चित गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी र नेतृत्वविरुद्ध पछिल्ला केही सामग्रीमा कानुनी र नैतिक मापदण्डको उल्लङ्घन गर्दै एकतर्फी, पूर्वाग्रही र असत्य विवरण प्रस्तुत गरिएको छ, जुन आपत्तिजनक छ ।’
यसैगरी, प्रचण्डको निवासमा सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र प्रचण्डलाई उपलब्ध गराइएका ८ सुरक्षाकर्मीलाई गङ्गा दाहालको घरमा खटाइएको भन्ने आरोपलाई पनि सचिवालयले अस्वीकार गरेको छ ।



