पर्सा । पर्साको वीरगञ्जस्थित नयाँ बसपार्क नजिकैको भानुचोकमा रहेको होटल शाह पाराडाइजको एक कोठामा दुई जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार मंगलबार साँझ होटलको कोठा नम्बर १११ मा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन्।

असोज १९ गतेदेखि उक्त कोठामा बस्दै आएका उनीहरू मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगेका थिए।
तर कोठा भित्रबाट ताला लगाइएको र ढकढकाउँदा पनि ढोका नखुलेपछि कर्मचारीले छेउको कोठाको भेन्टिलेटरबाट हेर्दा बुवा छोरा दुबै जना मृत अवस्थामा देखेको बताइएको छ ।
त्यसपछि प्रहरीलाई खबर गरेको र प्रहरी टोली घटनास्थल पुगेको डीएसपी लम्सालले बताए । उनका अनुसार भेन्टिलेटरबाट हेर्दा पिता सजल ओछ्यानमै र छोरा सागर झुन्डिएको अवस्थामा देखिएको थियो।
राति ढोका नफोडी प्रहरीको उपस्थितिमा शव निकाल्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासलाई समेत जानकारी दिइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



