काठमाडौँ। मिथिलाञ्चल क्षेत्रमा आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदैछ। यस पर्वको अवसरमा महोत्तरीको रतौलीबाट जनकपुरस्थित जानकी मन्दिरमा विशेष ‘पाहुर’ ल्याउने ऐतिहासिक परम्परा कायम छ भने नवविवाहित जोडीका लागि यो पर्व विशेष उत्सवका रूपमा रहने गर्छ।
कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षझैँ यस वर्ष पनि महोत्तरीको रतौलीस्थित स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट जानकी मन्दिरमा १०१ पाहुर ल्याइएको छ। यो पाहुरबाटै भगवान् सीतारामको चुमाओन (पूजा विधि) गर्ने परम्परा छ। पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको कपडा लगायतका सामग्रीहरू समावेश गरिएको छ। रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने यो परम्परा १५१ वर्षदेखि चल्दै आइरहेको र यसलाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता स्थानीय नवीन ठाकुरले व्यक्त गरेका छन्।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले कोजाग्रत पूर्णिमालाई भव्य बनाउन भजन कीर्तन र प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रम समेत आयोजना हुने गरेको बताएका छन्।
कोजाग्रत पूर्णिमा नवविवाहित पुरुष र महिलाका लागि विशेष उत्सवका रूपमा रहन्छ। आजको दिन बेहुलाको घरमा ससुराली पक्षबाट पाहुर आउने गर्दछ। सोही पाहुरले बेहुलाको चुमाओन गरिन्छ। चुमाओनपछि विशेष मन्त्र उच्चारण गर्दै बेहुलालाई दुरवाच्छत दिइन्छ। त्यसपछि बेहुलाको घरमा भोजभतेरको आयोजना गर्ने गरिन्छ। यसका अतिरिक्त, कोजाग्रत पूर्णिमाको दिन मिथिलाञ्चलमा पान र मखान गाउँमा बाँड्ने परम्परा समेत रहेको छ।



