कतारको दोहामा आयोजित ‘दोहा महिला फोरम २०२५’मा सहभागीहरूले महिला शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
फोरममा नेपाली कम्पनीहरुबाट प्रतिनिधित्व गरेकी क्यूएसटी ट्रेनिङ एन्ड कन्सल्ट्यान्सीकी प्रबन्ध निर्देशक यास्मिन नाजले महिला साक्षरता महत्त्वपूर्ण विषय भएकाले महिलालाई नेतृत्व तहमा पुग्न शिक्षामा विशेष जोड दिनुपर्ने बताइन्।

नेपालमा महिला सशक्तीकरणको आवश्यकताबारे उल्लेख गद्र्यै यास्मिनले आफू पनि नेपालको ग्रामीण क्षेत्र (जलेश्वर)बाट कतार आएर व्यवसायमा लागेको बताइन्। नेपाली महिलाहरु कतारमा हजारौंको संख्यामा भए पनि नेतृत्व तहमा आउन अझै संघर्षरत रहेको भन्दै उनले शिक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताइन्।
कार्यक्रममा महिला शिक्षाको क्षेत्रमा कतारले निकै फड्को मारेकाले उनीहरु नेतृत्व तहमा पुगेको अलजजिरा टेलिभिजनकी प्रस्तोता फोल्ली थिवाल्टले बताइन्। आफ्नो देश अफ्रीकाको गिन्नीमा अझै बालविवाहका कारण बालिका शिक्षा कमजोर भएको उल्लेख गर्दै उनले विश्वले नै महिला शिक्षामा अझै काम गर्नुपर्नेमा जोड दिइन्।
स्नूनुका सिइयो हमाद मुबारक अल हजरीले महिलासँग क्षमता भएकाले अवसरको आवश्यकता रहेको औंल्याए। समाज परिवर्तनमा शिक्षित महिलाको आवश्यकता भएको भन्दै उनले आफ्नो व्यवसायमा महिला नेतृत्व तहमा रहेको बताए।
दोहा महिला फोरमकी फाउन्डर कोन्चिता पोन्चले सबै समुदायमा महिलालाई अघि बढाउने अवसरको रुपमा फोरम रहेको बताइन्। कतारमा महिलाको नेतृत्वमा रहेका कम्पनीमा महिलालाई अझ सशक्त बनाउने प्रयास भएको उनको भनाइ थियो।
सो फोरममा युनेस्कोको शिक्षा कार्यक्रम विशेषज्ञ फरिदा अबुदानसंगै विभिन्न संघसंस्था, कम्पनीको नेतृत्व गरेका महिलाहरु, कतारस्थित विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागीता थियो।



