जेन–जी आन्दोलनका कारण मधेश प्रदेश शून्यमा रहेको छ । आन्दोलन चर्किएपछि जेन–जीको समर्थनमा मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएका थिए । उनको राजीनामापछि पनि मधेश प्रदेशका सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ ।

उक्त आगजनी र तोडफोडपछि क्षतिको सामान्य आकलन पनि गर्न सकिएको छैन । आन्दोलनकारीहरूले मधेश प्रदेश सरकारका प्रशासनिक भवन तथा प्रदेशसभामा आगजनी र तोडफोड गरेपछि प्रमुख सचिवदेखि मन्त्रालयका कर्मचारीहरू भागेका छन् । अहिलेसम्म उनीहरू सम्पर्कमा आइसकेका छैनन् ।

नेपाली सेनाले सुरक्षाको कमान्ड आफ्नो हातमा लिएपछि बुधबारदेखि अवस्था सामान्य देखिए पनि मन्त्री, सचिव र कर्मचारीहरू सम्पर्कविहीन छन् । सञ्चारकर्मीहरूले सम्पर्क गर्दा पनि मन्त्रीहरू बोल्न इच्छुक देखिएका छैनन् ।

आन्दोलनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा, सांसदका घरसमेतमा आगजनी गरेका थिए । भौतिक पूर्वाधार, ऊर्जा–सिँचाइ तथा खानेपानी, श्रम–यातायात, शिक्षा–सांस्कृतिकसहितका मन्त्रालय भवन जलेर खरानी भएका छन् । मन्त्रालयभित्रका महत्त्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री पूर्ण रूपमा नष्ट भएका छन् ।

जनकपुरस्थित मधेश सरकार भवन (चुरोट कारखाना) परिसरमा रहेका अधिकांश सरकारी सवारीसाधनमा समेत आगजनी गरिएको छ । एक कर्मचारीका अनुसार, मुख्यमन्त्री सिंहले बिहानै सचिवहरूलाई मन्त्रालयमै सवारीसाधन राख्न निर्देशन दिएका थिए, जसका कारण आन्दोलनकारीले सजिलै गाडी जलाएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तोडफोड भए पनि भवन जलेको छैन । तर, त्यहाँ रहेका विभिन्न मोडेलका छवटा गाडी र मोटरसाइकल पूर्ण रूपमा जलेका छन् ।

प्रदेशसभाको भौतिक संरचना जले पनि केही सामग्री सुरक्षित रहेको सचिवालयका एक कर्मचारीले बताए । तर, दलका कार्यालयहरू भने पूर्ण रूपमा नष्ट भएका छन् । जनकपुरधाम उपमहानगरपालिका भवनमा समेत ठूलो क्षति भएको छ । आन्दोलनकारीहरूले ग्यास सिलिन्डरमा आगो लगाउँदा छतमा क्षति पुगेको र गाडीहरू जलाइएको छ । त्यहाँ नगर प्रहरी तथा कर्मचारीहरू नहुँदा  बुधबार पनि चोरीका घटना भएका थिए ।

त्यसैगरी, जनकपुर भन्सार कार्यालयमा रहेका सशस्त्र प्रहरी भागेपछि आन्दोलनकारीहरूले कार्यालयमा आगजनी गरेका थिए । लिलामीका लागि राखिएका मोटरसाइकल तथा अन्य सामग्री पनि लुटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय