सिरहा । सिरहा जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले एसईईमा नील भएका (जिरो) रिजल्ट ल्याउने विद्यालयलाई जवाफदेही बनाउने बताएका छन् ।
सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेसँगै पत्रकारहरुसँगको छलफलमा १०–१२ वटा सामुदायिक विद्यालय निल भएको भन्ने सूचना पाएकोले चाँडै प्रध्यनाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरी जिम्मेवार बनाउने बताएका छन् । राज्यको स्रोत साधन विद्यालयमा पुग्ने गरेको तर विद्यालयको एसईईको नजिता शुन्य आउन दुःखद भएको भन्दै प्रजिअ अधिकारीले यसका निम्ति प्रअ र विद्यालय व्यवस्थापन समिति जिम्मेवार बन्नुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय सिरहालाई सवैभन्दा पहिले विचौलियामुक्त गर्दै सहज रुपमा सेवा प्रवाहको कार्यालयको रुपमा आफ्नो पहिलो प्रयास रह्ने भन्दै प्रजिअ अधिकारीले जिल्ला प्रशासनपछि अन्य सेवा प्रदायक कार्यालयहरुलाई पनि जिम्मेवार बनाउने आफ्नो लक्ष्य रह्ने बताएका छन् । राजनीतिक दल, सुरक्षा अधिकारीहरुसँग आफूले छलफल गरिसकेको भन्दै प्रजिअ अधिकारीले सीमालाई पर्यटकीय र हराभरा बनाउनु पर्नेमा पनि जोड दिने बताएका छन् । स–सानो कुरालाई पनि उतिकै गम्भीरतापूर्वक ध्यान दिई आफ्नो कार्याकालमा सेवा सुविधा, सुशासन, शान्ति सुरक्षा, चोरी तस्करी नियन्त्रण र उपभोक्ताको हित र अधिकारको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफूबाट भविष्यमा हुन सक्ने कुनै गल्तिको आलोचना गर्न सिरहाका पत्रकारहरु स्वतन्त्र रहेको भन्दै उनले जिल्लामा नागरिकको हितमा काम गर्ने पत्रकारहरुलाई पूर्ण सुरक्षाको ग्यारेन्टी रह्ने बताएका छन् । पत्रकारहरुले मिथ्या सूचनाबाट जोगिएर तथ्य र सत्य समाचार प्रकाशनमा सक्रियतापूर्वक लाग्नुपर्ने र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न आफू पूर्ण प्रतिबद्ध रहेको प्रजिअ अधिकारीले बताए ।
चाडपर्व नजिकै गरेकोले भन्दै उनले चाँडै नै चाडपर्व लक्षित अनुगमनलाई अगाडी वढाउने र जिल्लाको विषयवस्तुलाई बुझ्नै थप निर्णयहरुले लिने बताएका छन् । जिल्लामा हुने चुरेक्षेत्रको विनास, दोहन, नदीहरुको दोहन जस्ता कार्यलाई रोक्न आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रअिज अधिकारीले बताएका छन् । पत्रकारहरुले प्रजिअ अधिकारीलाई आफूहरुसँग सूचना संकलन गरी भोलीका दिनमा आर्थिक असुली गर्ने काम नगर्न सुझाएका छन् । जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रको समस्यालाई समाधान गर्न स्थानीय तहसँग समन्वय गर्दै अघि वढाउन भूमिका निर्वाह गर्न पत्रकारहरुले प्रजिअ अधिकारीलाई आग्रह गरेका छन् । पत्रकार भेटघाटमा वरिष्ठ पत्रकार अनिरुद्र ठाकुर, डा जयनारायण यादव, नयाँ पत्रिकाका सुरेन्द्र कुमार कामति, इमेज खबरका सिरहा संवाददाता राम बाबु यादव, अपन दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक तथा नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष शुभ नारायण कामती, राससका जिल्ला प्रतिनिधि सुदिप राउत, मुकेश यादव, इन्सेक प्रतिनिधि दुर्गा परियार, प्रेस यूनियनका सिरहा जिल्ला अध्यक्ष निर्मला दाहाल, महासंघका जिल्ला सदस्य सोनु मिश्रा, पत्रकार राम नारायण ठाकुर लगायत संचारकर्मीहरु सहभागी रहेका थिए ।



