काठमाडौं । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि देशभरका सबै सवारी साधनमा एम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सूचना जारी गरेसँगै यातायात क्षेत्रका मजदुरहरुले विरोध गरेका छन् ।तीन यातायात मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारी निर्णयको विरोध गरेका हुन् । उनीहरूले पूर्वाधार तयार नगरी एकतर्फी रुपमा ल्याइएको यो निर्णय संविधानको मर्म र राजपत्रको प्रावधान विपरीत रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न माग गरेका छन् ।
नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले सरकारको यो कदमले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउनुको सट्टा थप जटिलता र आर्थिक भार थोपर्ने काम मात्र हुने बताएका हुन् ।सरकारी कामकाजको भाषा देवनागरी लिपी हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, उपेक्षा गर्दै अङ्ग्रेजी भाषामा नम्बर प्लेट लागू गर्न खोज्नु राष्ट्रिय पहिचान माथि प्रहार गरेको छ ।

विगत एक दशकदेखि एम्बोस्ड नम्बर प्लेट लागू गर्ने प्रयास भए पनि यसको कार्यान्वयन पक्ष अत्यन्तै न्यून र प्रभावहीन रहेको मजदुर संगठनहरुको भनाइ छ । सवारी चालक अनुमतिपत्र समेत दिन नसकेको सरकारले नागरिकलाई सास्ती दिन लगेको भन्दै यातायात मजदुरले विरोध गरेका हुन् ।स्वदेशमै नम्बर प्लेट तयार गर्ने पूर्वाधारको विकास, सवारी साधनका संवेदनशील डाटाहरू विदेशीको पहुँचमा जानबाट रोक्ने सुनिश्चितता, सरोकारवाला पक्षसँग पर्याप्त छलफल र सहुलियत शुल्कमा प्लेट उपलब्ध गराउने वातावरण बनाएर मात्रै यसलाई ऐच्छिक रूपमा लागू गर्दै जानुपर्ने माग गरेका छन्।





