जनकपुरधाम । दीर्घ प्रयासपछि मधेश प्रदेशमा पहिलो पटक “मधेश प्रदेश युवा नीति तर्जुमा सम्बन्धी परामर्श कार्यक्रम” सम्पन्न भएको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशको आयोजनामा जनकपुरधामस्थित होटल सिता शरणमा भएको कार्यक्रममा प्रदेशभरिका युवाहरूको सक्रिय उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेश नि• प्रदेश सचिव श्री रंञ्जित कुमार यादवले गर्नुभएको थियो।
प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्रालयका माननीय मन्त्री श्री प्रमोद जयसवाल रहेका थियो।
मन्त्री जयसवालले सम्बोधन गर्दै भन्नुभयो, “यो युवा नीति हामीले छिटो (Fast track) बाट पारित गर्छौं, तर यसलाई पारित गर्दा सबै जिल्लाका युवाहरूको आवाज समेत समेटिनेछ।”
त्यसैगरी, मधेश प्रदेश युवा संजालका अध्यक्ष मो• नइम राईनले यस छलफललाई “मधेश प्रदेशका युवाहरूको लागि महत्वपूर्ण उपलब्धि” भन्दै लामो संघर्ष र निरन्तर प्रयासपछि नीति निर्माण प्रक्रियाको थालनी भएको बताए। उनले भने, “हामी निरन्तर संघर्षरत थियौं, आज पहिलो पटक छलफल सुरु हुनु हाम्रो आन्दोलन र समर्पणको फल हो।”

कार्यक्रममा नीति तथा योजना आयोग, मधेश प्रदेशका उपाध्यक्ष डा. शोहन साह पनि सहभागी हुनुभयो। उहाँले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीतिगत प्रावधान आवश्यक रहेको बताउँदै, “प्रदेशको प्रमुख अर्थतन्त्र कृषि भएकाले युवा नीति र कार्यक्रमले कृषि रोजगारीसँग जोडिन जरुरी छ” भन्ने धारणा राख्नुभयो।

सहजकर्ताका रूपमा जुरी नेपालका कृष्णजीत विहारी र गुञ्जन यादवले युवा नीतिको प्रारम्भिक रूपरेखा प्रस्तुत गर्नुभयो। सहभागी युवाहरूले शिक्षा, रोजगारी, खेलकुद, स्वास्थ्य, कृषि, नेतृत्वको अवसर, उद्यमशीलता, लैङ्गिक समानता र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा प्रदेशका उच्च अधिकारी, युवा प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय