काठमाडौं । विगत ६ वर्षमा नेपालका विभिन्न क्षेत्रमा काम गर्न ११७ देशका नागरिक श्रम स्वीकृति लिएर आएका छन् । यस अवधिमा करिब १५ हजार विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार, आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको अवधिमा उनीहरूले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका हुन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशी नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृति प्रदान गर्ने गर्दछ । विभागको तथ्यांकअनुसार, पछिल्लो ६ वर्षमा कुल १४ हजार ८९५ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा मात्र दुईहजार ५५९ जना विदेशीलाई विभागले श्रम स्वीकृति प्रदान गरेको छ । पछिल्ला तीन आर्थिक वर्षमा नेपालमा काम गर्न श्रम स्वीकृति लिने विदेशीको संख्या २५ सयभन्दा बढी रहेको विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७६/७७ मा दुईहजार ८६ जना, २०७७/७८ मा दुईहजार ३९० जना, २०७८/७९ मा दुईहजार १८१ जना, २०७९/८० मा दुईहजार ९९४ जना, २०८०/८१ मा दुईहजार ६८५ जना र २०८१/८२ मा दुईहजार ५५९ जना विदेशीले श्रम स्वीकृति लिएका थिए ।
पछिल्लो ६ वर्षमध्ये आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी दुईहजार ९९४ जना विदेशीले नेपालमा काम गर्न विभागबाट श्रम स्वीकृति लिएका थिए । विभागबाट श्रम स्वीकृति लिई नेपालमा काम गर्ने विदेश नागरिकमा सबैभन्दा बढी क्रमश: चीन, बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, भारत, अस्ट्रेलिया, श्रीलंका र जर्मनका छन् ।
भारतीयलाई नेपालमा काम गर्न श्रम स्वीकृति नचाहिने हुँदा ठूला संस्थामा काम गर्नेहरूले मात्र श्रम स्वीकृति लिने गर्छन् । यसैकारण नेपालमा काम गर्ने विदेशीमा भारतीयको संख्या अन्य देशको तुलनामा कम देखिएको हो । श्रम स्वीकृति नलिई काम गर्ने भारतीयको संख्या नेपालमा निकै ठूलो रहेको छ । विभागको तथ्यांकअनुसार, बितेको ६ वर्षमा श्रम स्वीकृति लिई १० हजार ५१६ चिनियाँ, ६५० बेलायती, ४७२ अमेरिकी, ३७६ जापानिज, ३६६ दक्षिण कोरियाली, २९६ भारतीय, १७३ अस्ट्रेलियन, १४६ श्रीलंकन र १३४ जना जर्मन नागरिकले नेपालमा काम गरेका छन् ।
यस्तै, यस अवधिमा फ्रान्सका ११७, फिलिपिन्सका ११२, इटालीका ९८, क्यानडाका ९२, बंगलादेशका ८१, क्यामरुनका ६६, स्पेनका ६३, पाकिस्तानका ६१, नाइजेरियाका ६०, थाइल्यान्डका ५४, भियतनामका ५०, स्विडेनका ४९, मलेसियाका ४८, नेदरल्यान्ड्सका ४८, फिनल्यान्डका ४२ र स्विट्जरल्यान्डका ४१ जना नागरिकले श्रम स्वीकृति लिई नेपालमा काम गरेका थिए । नेपालमा काम गर्न अस्ट्रेलिया, दक्षिण अमेरिका, उत्तर अमेरिका, युरोप, अफ्रिका र एसिया महादेशमा रहेका विभिन्न देशका नागरिकले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार, हालसम्म नेपालमा काम गर्न २२ हजार ४२ जना विदेशीले श्रम स्वीकृति लिएका छन् । यसरी श्रम स्वीकृति लिनेमा १९ हजार ३९५ पुरुष र २ हजार ६४७ महिला छन् । नेपालमा सञ्चालित ठूला जलविद्युत् आयोजना, बैंक, गैरसरकारी संस्थालगायत क्षेत्रमा काम गर्न विदेशी श्रम स्वीकृति लिएर आउने गर्छन् ।




